शिक्षक आन्दोलनको सातौं दिन मोबाइलको टर्च बाल्दै सरकार खोजे

२६ चैत, काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै सातौं दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षक–कर्मचारीहरूले सोमबार अनौठो शैलीमा सरकारप्रति विरोध जनाएका छन्।

शिक्षकहरूले बानेश्वर–बबरमहल सडकखण्डमा मोबाइल र हेड ल्याम्पको टर्च बाल्दै दिउँसै सरकार खोज्ने सांकेतिक प्रदर्शन गरेका हुन्।

“सरकार कहाँ छ ? हामी खोज्दैछौं,” भन्दै उनीहरूले नाराबाजी गरेका थिए। टर्च बालेर गरिएको प्रदर्शनले सरकार शिक्षा क्षेत्रमा निष्क्रिय बनेको सन्देश दिन खोजिएको उनीहरूको भनाइ छ।

प्रदर्शनमा बाक्लो संख्यामा शिक्षकहरूको सहभागिता थियो भने सुरक्षाका लागि प्रहरी पनि व्यापक रूपमा परिचालन गरिएको थियो। आन्दोलनका कारण सो क्षेत्रको सवारी आवागमन समेत केही समय प्रभावित भयो।

गुणस्तरीय, समावेशी र शिक्षक–विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन्। उनीहरूले चैत २० गतेदेखि काठमाडौंमा चरणबद्ध प्रदर्शन गर्दै आएका छन्।

चैत २५ गतेदेखि शिक्षण कार्य ठप्प पार्दै आम शैक्षिक हड्ताल घोषणा गरिएको छ। आन्दोलनकै कारण एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण प्रभावित हुँदा नतिजा प्रकाशन ढिलिन सक्ने चिन्ता बढेको छ।

यसअघि शिक्षकहरूले कालोपट्टी, कालो मास्क, सिट्टी फुकेर, मौन प्रदर्शन र सडकमा सुतेर विरोध जनाइसकेका छन्। आजको प्रदर्शनमा भने मोबाइलको टर्च बालेर सरकार खोज्दै “शिक्षा ऐन जारी गर” भन्ने मुख्य माग दोहोर्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित