कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–११ स्थित बेताल सःमिल एण्ड फर्निचर उद्योगमा आइतबार गरिएको छापामारीमा सामुदायिक वनबाट अवैध रूपमा ल्याइएको सालको काठ फेला परेको छ।
कालिका सामुदायिक वनबाट काटिएको ९ वटा सालका गोलिया (७७.७४ क्यूफिट) सःमिलमा लुकाइराखिएको अवस्थामा भेटिएपछि सःमिलका सञ्चालक बिरेन्द्रबहादुर ऐर पक्राउ परेका छन्।
सञ्चालक ऐरको बयानपछि सोमबार कालिका सामुदायिक वनको रुख कटान समितिका सदस्य तिलक सुनारलाई पनि नियन्त्रणमा लिइएको छ। शुक्लाफाँटा सवडिभिजन वन कार्यालयका प्रमुख भोजराज शर्माका अनुसार सुनारले प्रारम्भिक बयानमै आफूले वनबाट काठ काटेर मिलसम्म ल्याएको स्वीकार गरेका छन्।
वन कार्यालयले ऐरलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिसकेको छ। तर, तिलकले काठ आफ्नो भएको स्वीकार गरेपछि ऐरलाई स्वास्थ्य अवस्था (रक्तचापको समस्या) का कारण सशर्त रिहा गर्ने तयारी भइरहेको वन अधिकृत शर्माले बताए।
स्थानीय बासिन्दाहरूका अनुसार कालिका सामुदायिक वनका अध्यक्ष दिपेन्द्र जैरुको नेतृत्वमा शनिबार राति १२ बजे सालका रुख काटेर ती काठहरू सःमिलमा पुर्याइएको हो। यस घटनापछि सामुदायिक वनका पदाधिकारीहरूमाथि समेत अनुसन्धान अघि बढाउने तयारी भइरहेको वन कार्यालयले जनाएको छ।
‘सुनारको बयानबाट थप संलग्न व्यक्तिहरूको पहिचान हुने अपेक्षा गरिएको छ,’ वन अधिकृत शर्माले भने, ‘कालिका सामुदायिक वनबाट सःमिलसम्म काठ कसरी पुग्यो भन्ने विषयमा गम्भीर छानबिन हुँदैछ।’
स्थानीयहरूले भने वनका पदाधिकारीहरूकै मिलोमतोमा वनको दोहन भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। सामुदायिक वन संरक्षणमा लापरवाही तथा मिलेमतो हुने हो भने वन स्रोत संरक्षणमा चुनौती थपिने जनचासो देखिएको छ।
Discussion about this post