कञ्चनपुर – बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन राना मंगलबार बिहान कलकत्ता जान मोटरसाइकलमा निस्किए। तर केही घण्टामै उनी बेलौरी नगरपालिका–१०, शिवनगरस्थित मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परे।
उनी सवार मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको अवस्थामा भेटियो। प्रारम्भिक दृष्टिमा देखिएको दुर्घटनाभन्दा यो घटना भयावह र रहस्यमय भएको बेलडाँडी-३ का वडा अध्यक्ष दुर्गाप्रसाद चाैधरी लगायत स्थानीयको भनाई छ ।
रानाका आफन्तले यो सामान्य दुर्घटना नभइ योजना अनुसार हत्या गरेर प्रमाण मेटाउने घृणित प्रयास भएको बताएका छन्। यो घटनालाई सामान्य दुर्घटना होइन, पहिले हत्या गरेर त्यसपछि प्रमाण नष्ट गर्न आगो लगाइएको भन्दै प्रहरीसमक्ष कडा माग गरेका छन्।
शरीरको जल्ने तरिका र मोटरसाइकलको अवस्था हेर्दा, हत्या गरिएको दाबीलाई बल मिलेको देखिन्छ।
घटनास्थलमा तालिम प्राप्त कुकुर लगिएको छ भने अनुसन्धानमा प्रदेश प्रहरी कार्यालय र CIB को टोली खटिएको छ। रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ।
यो निर्मम घटनाले स्थानीयमा त्रास फैलाएको छ। दोषी पत्ता लगाइयोस् भन्दै प्रहरीमाथि दबाब बढ्दो छ। के यो पूर्व योजनाबद्ध हत्या थियो? कि कसैले पुरानो रिस साँध्दै आगोको पर्दा बनाएर अपराध लुकाउने प्रयास गर्यो?
यस रहस्यमय घटनाले कञ्चनपुरमा शंकाको बादल मडारिएको छ। प्रहरी अनुसन्धानले अब सत्यको पर्दा खोल्ने अपेक्षा गरिएको छ।साथै दोषी पत्ता लगाउन प्रहरीमाथि चर्को जिम्मेवारी आएको छ।
Discussion about this post