बझाङ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ११ अन्तर्गत पर्ने मयाना गाउँ, नामको नगरपालिका भए पनि अवस्था भने अझै दुर्गम गाउँकै छ । सदरमुकाम चयनपुरबाट जम्मा १२–१३ किलोमिटरको दूरीमा भए पनि यो गाउँ विकासको सूचीमा कहिल्यै परेन ।
स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात जस्ता आधारभूत सेवा सुविधाको चरम अभाव रहेको मयानालाई नगरपालिका र वडाले विकासको सन्दर्भमा निरन्तर उपेक्षा गर्दै आएको स्थानीयहरूको गुनासो छ ।
वडाध्यक्ष सर्जन थापा एमालेबाट निर्वाचित छन् भने पालिका प्रमुख चेतराज बजाल नेपाली कांग्रेसबाट । राजनीतिक भिन्नताले गर्दा मयनाबासीहरूलाई सेवा र विकासका नाममा निराशा मात्रै बाँडिएको छ । काँग्रेस समर्थकहरूले वडाध्यक्षले ‘भोट नदिएको’ भन्दै सिफारिसदेखि सेवा रोकेको आरोप लगाउँछन् भने एमाले कार्यकर्ताहरू पालिका प्रमुखले एमालेको वडा भनेर बजेट विनियोजनमै सौतेनी व्यवहार गरेको दाबी गर्छन् ।
राज्यले भ्यू टावरदेखि मठ–मन्दिर, सडक, बत्ती, खानेपानीसम्ममा करोडौं खर्च गरिरहेका बेला मयानाको ऐतिहासिक निलकट्टी मन्दिर भने कहिल्यै सरकारको बजेटमा अटाएन ।
गाउँलेहरू भन्छन्, “व्यक्तिमा खर्च नगरोस्, तर पुर्खौली बस्ती र हाम्रो आस्थाको केन्द्र मन्दिरमा राज्यले ध्यान दिनुपर्छ ।“ मन्दिरको छाना चुहिन्छ, पर्खाल कच्ची छ, पानी र अन्य सुविधा छैन । हालै गाउँलेहरूले आफ्नै लगानीमा बत्ती जडान गरे पनि बाँकी समस्या यथावत् छ ।
सदरमुकामबाट मयानासम्म पुग्ने कच्ची सडक त छ, तर जोखिमपूर्ण हुँदा यातायात सञ्चालन ठप्प छ । गाडी जान नमान्दा वडाको कामका लागि चयनपुर जानु परे पनि स्थानीयहरूलाई हिँडेर जानुपर्ने बाध्यता छ । उक्त रोडमा गाडी बुकिङ गरे मात्र चल्छ, त्यो बुकिङ गर्न ४ हजार चाहिन्छ, ४ हजार नभए बुकिङ हुदैन र पैदल यात्रा गर्नूको विकल्प अर्को छैन् । सानो वडाको सिफारिस लिनका लागि पनि चयनपुर जानुपर्ने बाध्यता छ । सरकारले सिहदरवार गाउँगाउँमा भन्ने नारा यहाँ अझै लागु हुन सकेको छैन् । सिंहदरवारको आवास अझै मयानाबासीलाई भएको छैन् ।
विकासलाई चुनावी नारा बनाउनेहरू चुनाव जितेपछि फर्केर हेर्दैनन् भन्ने गुनासो मयानाबासीहरूको साझा आवाज बनेको छ । उनीहरू भन्छन्, “अब नामको नगरपालिकाभन्दा काम गर्ने नगरपालिका चाहिन्छ । विकासको ढोका सहरबाट होइन, गाउँको आँगनबाट खोलिनुपर्छ ।“
यस विषयमा नगरप्रमुख चेतराज बजाल (९८४८५९९५०८) र ११ नं. वडाका वडाध्यक्ष सर्जन थापा (९८६२४७१२९०)लाई ३,४ पटक फोन गर्दा उनीहरुले फोन उठाएनन् ।
Discussion about this post