१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न असफल हुँदै बल प्रयोग गरेर सरकारले कुशासनको उदाहरण प्रस्तुत गरेको टिप्पणी गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका कोइरालाले सरकार गम्भीर नभएकोप्रति चिन्ता व्यक्त गर्दै शिक्षकका माग तत्काल सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू झण्डै एक महिनादेखि सडकमा छन्। पठन–पाठन ठप्प छ, सरकारी भर्ना अभियान रोकिएको छ र कक्षा १२ को परीक्षा समेत सारिएको छ,’ कोइरालाले भनेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरेर समस्या समाधान गर्नु पर्नेमा सडकमै बल प्रयोग र पालिकामार्फत धम्की दिने कार्य सरकारको कुशासनको अर्को प्रमाण हो।’
उनले सरकारले अब ढिलाइ नगरी एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्ने वातावरण बनाउन आग्रह गरेका छन्।
२६ दिनदेखि जारी शिक्षक आन्दोलनको २६औं दिन सरकार र शिक्षकहरूबीच झडप हुँदा थुप्रै शिक्षक घाइते भएका छन्। एक सञ्चारकर्मीसमेत घाइते भएकी छिन्।
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण होः शेखर कोइराला
Discussion about this post