आगामी वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड, खेलकुद क्षेत्रमा अहिलेसम्मकै उच्च विनियोजन

काठमाडौं, जेठ १५ सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराउँदै महँगी नियन्त्रण, पूर्वाधार विकास र जनसेवामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।

यसपटक सरकारी कर्मचारीको तलब नबढाइए पनि महँगी भत्ता पाँच हजार रुपैयाँले बढाइएको छ । अर्थमन्त्री पौडेलका अनुसार स्रोतको अभावका कारण तलब वृद्धि सम्भव नभए पनि कर्मचारीको जीवनयापनमा राहत पुग्ने उद्देश्यले भत्ता समायोजन गरिएको हो ।

आगामी वर्षको बजेटले खेलकुद क्षेत्रमा नयाँ आशा र सम्भावना बोकेको छ । सरकारले हालसम्मकै उच्च बजेट-६ अर्ब ८ करोड रुपैयाँ-खेलकुद क्षेत्रमा विनियोजन गर्दै भौतिक पूर्वाधार विकासमा जोड दिएको छ ।

बजेट अनुसार झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिनेछ । त्यसैगरी, सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली जिल्लाहरूमा हाइ अल्टिट्युड स्पोट्र्स स्टेडियम निर्माण गरिने योजना छ ।

क्रिकेट संरचना सुधारतर्फ पनि बजेटले ध्यान दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ छुट्याइएको छ भने मूलपानी, फाप्ला, सिद्धार्थ र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि कुल ४२ करोड विनियोजन गरिएको छ ।

त्यस्तै, सुर्खेतमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको तयारीका लागि ५४ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेटले पूर्वाधार, खेलकुद, सामाजिक सुरक्षा, कर्मचारी हितलगायत विविध पक्षलाई समेट्ने प्रयास गरेको छ । स्रोतको सीमितताबीच पनि दीर्घकालीन सोच र समावेशी योजनाहरूलाई प्राथमिकतामा राखेर प्रस्तुत गरिएको बजेटले आर्थिक स्थायित्व र सामाजिक समृद्धिको सन्देश दिन खोजेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित