काठमाडौं । संसदको अवरोध हटाउने र आगामी बजेटमाथि छलफलको समय निर्धारण गर्नका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। समितिको बैठक आज मध्यान्ह १२ बजेका लागि बोलाइएको छ।
बैठकअघि बिहान ११ बजे सभामुख घिमिरेले प्रमुख सचेतक र मुख्य सचेतकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ।
सभामुखको सचिवालयका अनुसार संसदमा जारी अवरोध हटाउने र जेठ १५ गते प्रस्तुत बजेटमाथि हुने छलफलका लागि समय तालिका तय गर्न बैठक तथा छलफल आह्वान गरिएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। उनीहरूले आजदेखि अवरोधको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका छन्।
यसै सन्दर्भमा संसदको अवरोध अन्त्य गर्ने उपाय खोज्न सभामुख घिमिरेले छलफल तथा बैठकको पहल थालेका हुन्। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार अवरोध अन्त्यका लागि आवश्यक सहमति जुटाउने प्रयासस्वरूप बैठक आयोजना गरिएको हो।
Discussion about this post