दार्चुला :करिब एक दशकपछि दार्चुलाको सदरमुकाम खलङ्गामा संघीय सरकारको लगानीमा कभर्ड हल निर्माणको काम सुरु गरिएको छ। महाकाली नदीमा २०७० सालमा आएको विनाशकारी बाढीले पुरानो कभर्ड हल र खेल मैदान पूर्ण रूपमा बगाएपछि नयाँ संरचना निर्माणको प्रक्रिया अघि बढाइएको हो।
बाढीले खलङ्गास्थित खुलामञ्च, खेल मैदान र पुरानो कभर्डहलमा पूर्ण क्षति पुर्याएको थियो। त्यसयता निर्माणको पहल भए पनि राजनीतिक सहमतिको अभावमा काम अघि बढ्न सकेको थिएन। तर, हालै मात्र जिल्लाका दुई प्रमुख दल—नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि खुलामञ्चको उत्तरतर्फ नयाँ कभर्ड हल निर्माण थालिएको हो।
जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकीका अनुसार, बाढीले क्षति पु¥याएको दक्षिणतर्फको पुरानो कभर्ड हल हटाएर खेल मैदान निर्माण गरिनेछ भने उत्तरपट्टि नयाँ कभर्डहल बन्नेछ। “निर्माणको क्रममा पनि खेलकुद गतिविधि प्रभावित नहोस् भनेर पुरानो संरचना हटाएर अस्थायी रूपमा खेल मैदान प्रयोगमा ल्याइनेछ,” अध्यक्ष बुढाथोकीले जानकारी दिए।
नयाँ कभर्ड हल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले डीपीआर तयार गरिसकेको थियो। त्यसपछि निर्माण स्थलको माटो परीक्षण गरी टेन्डर आह्वान भएको थियो। वैशाख २५ गते जगन्नाथ आरबी कन्स्ट्रक्सन निर्माण कम्पनीसँग एक करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना, डोटीका सबइन्जिनियर दिनेश जर्पेलले जानकारी दिए।
“सङ्सदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एक करोड र राष्ट्रिय खेलकुद परिषदबाट थप एक करोड रुपैयाँ विनियोजन गरिएको थियो,” जर्पेलले बताए, “एक करोड ८४ लाखमा सम्झौता भइसकेको छ।”
खेलाडीहरूका लागि कभर्ड हल नहुनु ठूलो समस्या बनेको एथ्लेटिक्स खेलाडी ओमकार पाल बताउँछन्। “जिल्लामा कुनै इन्डोर खेलकूद संरचना छैन। हामी धारचुला (भारत) गएर खेल्न बाध्य छौं,” उनले भने, “जिल्ला स्तरीय खेल आयोजना गर्न समेत समस्या भइरहेको छ।”
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दार्चुलाका संघीय सांसद दिलेन्द्रप्रसाद बडूले कभर्ड हल निर्माणका लागि सङ्सदीय क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँ विनियोजन गरेका हुन्।
खेलकुद समिति दार्चुलाका अनुसार हाल पहिलो चरणमा कभर्ड हलको जग निर्माण गरिँदैछ भने आगामी आर्थिक वर्षमा थप बजेट प्राप्त भई संरचनागत काम अघि बढाइनेछ। कभर्ड हल निर्माणपछि जिल्लाको खेलकुद विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
Discussion about this post