सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा भारतबाट फर्किएका १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितहरू कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाकाबाट नेपाल प्रवेश गरेका हुन्। ती नाकाहरूमा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त परीक्षण कीट नहुँदा धेरैको परीक्षण हुन सकेको छैन।
निर्देशनालयका अनुसार मंगलबार मात्रै भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये एक/एक जना गौरीफन्टा र झुलाघाट नाकाबाट प्रवेश गरेका हुन्। सुदूरपश्चिमका विभिन्न नाकाबाट हालै ६४३ जना नेपाल भित्रिएका थिए, जसमध्ये १४ जनाको मात्रै परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये दुई जनामा संक्रमण देखिएको हो।
स्वास्थ्य निर्देशनालयका अनुसार त्रिनगर नाकाबाट फर्किएकामध्ये धेरैजसो संक्रमित भारतको दिल्लीबाट आएका थिए, जसले सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढाएको संकेत दिएको छ।
प्रदेशभर हाल जम्मा ३७० परीक्षण कीट मात्र उपलब्ध रहेको निर्देशनालयले जनाएको छ। मंगलबार गड्डाचौकी नाकामा १०० कीट पुगेपछि परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले बताए। उनका अनुसार अहिले लक्षण देखिएकाहरुको मात्र परीक्षण भइरहेको छ।
हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले मलेरिया, डेङ्गु लगायत अन्य परीक्षणसहित लक्षणबारे सोधपुछ पनि गरिरहेका छन्। तर कीट अभावका कारण धेरैको परीक्षण सम्भव नभएको गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले बताए। “शंकास्पद देखिएकालाई एक सातासम्म घरका अन्य सदस्यबाट टाढा बस्न सल्लाह दिइन्छ,” उनले भने।
स्थानीयवासी भने नाकाहरूमा सुरक्षा र निगरानी पर्याप्त नभएको गुनासो गर्छन्। “भारतबाट आउने जीप, बस र कार सिधै नेपाल प्रवेश गर्छन्, हेल्थ डेस्कमा जाँच गरिँदैन,” स्थानीय पदम थापाले भने।
कोरोना महामारीपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएको छ। तर कीट अभाव, कमजोरी निगरानी र सतर्कता नहुँदा संक्रमण फेरि फैलिने चिन्ता स्थानीयमा देखिएको छ।
Discussion about this post