क्रिकेट इतिहासमै पहिलो पटक ३ सुपर ओभर खेल्दै नेपाल र नेदरल्याण्ड्सले रचिदिए अद्वितीय कीर्तिमान

काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको टी–२० अन्तर्राष्ट्रिय खेल क्रिकेटको रोमाञ्चक इतिहासमा नयाँ अध्याय बनेर उत्रिएको छ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० शृंखलाको अन्तर्गत सोमवारको खेलमा दुवै टोलीले तीन–तीनपटक सुपर ओभर खेल्दै विश्व क्रिकेटमै अभूतपूर्व कीर्तिमान बनाएका छन्।

निर्धारित २० ओभरको खेल बराबरी भएपछि पहिलो सुपर ओभरमा दुवै टोलीले १९–१९ रन बनाए, दोस्रो सुपर ओभरमा १७–१७ रन जोडिएपछि खेल तेस्रोपटक फेरि सुपर ओभरमा प्रवेश गर्‍यो। अन्ततः तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्स विजयी बन्यो।

नेपालले अन्तिम सुपर ओभरमा रन नै जोड्न सकेन। कप्तान रोहित पौडेल पहिलो बलमै आउट हुँदा रुपेश सिंहले दबाब झेल्न नसक्दा दुई बल डट खेलेर चौथो बलमा पवेलियन फर्किए। जितका लागि १ रन आवश्यक थियो, जुन नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गर्दै प्राप्त गर्‍यो।

यसअघि निर्धारित २० ओभरको खेलमा टस हारेर फिल्डिङ थालेको नेपालले नेदरल्याण्ड्सलाई ७ विकेटको क्षतिमा १५२ रनमै रोक्दै सन्तुलित लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपालले पनि २० ओभरमा ८ विकेट गुमाएर १५२ रन नै बनाएर खेल बराबरी गरायो।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ रनको योगदान दिए। अन्तिम ओभरमा नेपाललाई १६ रन आवश्यक हुँदा सन्दीप लामिछाने र नन्दन यादवको जोडीले अद्भुत संघर्ष प्रस्तुत गर्दै स्कोर बराबरीमा ल्याए।

बलिङतर्फ सन्दीप लामिछानेले ४ ओभरमा मात्र १८ रन खर्चेर ३ विकेट लिएर चम्किए भने नन्दन यादवले २ विकेट लिए। ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट हात पारे।

नेदरल्याण्ड्सका लागि डानियल डोरामले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रनमा ३ विकेट लिए। विक्रमजित सिंहले २ विकेट तथा अन्य तीन बलरले १–१ विकेट लिए।

यो खेल विशेष मात्र कीर्तिमानी ढंगले टाइ भएको खेल होइन, नेपालको १००औं टी–२० अन्तर्राष्ट्रिय खेल पनि हो। अझ रमाइलो कुरा के छ भने यस ऐतिहासिक खेलमा किरण ठगुन्ना (ब्याटर) र रुपेश सिंह (बलर) ले नेपाली टोलीबाट आफ्नो टी–२० डेब्यू गरे।

यस अघि अन्तराष्ट्रिय तथा घरेलु क्रिकेटमा तीन सुपरओभर सम्म खेल पुगेको थिएन । पुरुष अन्तराष्ट्यि क्रिकेटमा भारत र अफगानिस्तान बीच २०२४ को जनवरीमा दुई सुपर ओभर भए पछिको यो दोस्रो खेल हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको यो तीन सुपर ओभरको संघर्ष न केवल खेलाडीका लागि, तर क्रिकेट प्रेमीका लागि पनि अविस्मरणीय रहिरहनेछ। विश्व क्रिकेटमा नेपालको नाम फेरि एकपटक साहस र संघर्षको प्रतीक बनेर उभिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित