नुवाकोट । गएराति नुवाकोटको ककनी गाउँपालिका–१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले एक महिलालाई बगाउँदा बेपत्ता बनाएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार, ३२ वर्षीया कमला बलामी सुतेकै अवस्थामा बाढीले बगाउँदा बेपत्ता भएकी हुन्। उनी आफ्ना श्रीमान् अशोक बलामीसँगै गोठमा सुतिरहेकी थिइन्।
गम्भीर घाइते भएका अशोक बलामीलाई उपचारका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा बेस बन्चरेबाट ६५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढीले बलामी दम्पती सुतेको गोठसहित तीनवटा गोठ र केही पशुचौपाया तथा घरेलु सामग्री समेत बगाएको स्थानीयवासीले बताएका छन्।
यसैबीच डोल्पा जिल्लाको काइके गाउँपालिका–४, रिवामा गएको पहिरोले १५ घर भत्किएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट उद्धार टोली घटनास्थलमा खटिएको छ।
पहिरोमा परी तीन जना घाइते भएका छन् भने उनीहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।
Discussion about this post