सुप प्रदेशका शिक्षकको प्रतिभा पहिचानका लागि नृत्य प्रतियोगिता कञ्चनपुरको बेदान्त विद्या मन्दिर प्रथम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका शिक्षकहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि सोमबार महेन्द्रनगरमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। शिक्षा विकास निर्देशनालय, राजपुर दिपायल डोटीको आयोजनामा भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट आएका शिक्षकहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले शिक्षकहरूमाझ रहेको कला र प्रतिभा उजागर गर्नुका साथै उनीहरूलाई विद्यार्थीका लागि प्रेरणाको स्रोत बनाउन यो कार्यक्रम आयोजना गरिएको बताए।

प्रतियोगितामा कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित बेदान्त विद्या मन्दिरका शिक्षकद्वय लालमणि जोशी र दीपिका खत्रीको टोली प्रथम स्थान हासिल गर्न सफल भयो। उनीहरूले सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने ‘टिपिकल’ गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

दोस्रो स्थानमा कैलाली अत्तरियास्थित सत्यवती विद्यालयका शिक्षिका आशिका भट्ट, मनिषा लामिछाने, वर्षा विष्ट र पार्वती कडायतको टोली रह्यो। तेस्रो स्थान डोटीको रामपुर माध्यमिक विद्यालयकी रश्मी श्रेष्ठले प्राप्त गरिन् भने सान्त्वना पुरस्कार भीमदत्त नगरपालिका–६ ऐठपुरका नवराज भट्टले पाए।

विजेता टोलीलाई क्रमशः प्रथमलाई १५ हजार, दोस्रोलाई १२ हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

नृत्य मात्र नभई आइतबार निर्देशनालयले विज्ञान, गणित, भाषा, संस्कृत साहित्य, संगीत र विशेष कला विधामा समेत शिक्षकहरूको प्रतिस्पर्धा गराएको थियो।

निर्णायक संयोजक तथा शिक्षा विकास समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले यस्ता प्रतियोगिताले शिक्षकहरूबीच आपसी चिनजान र सहकार्यलाई बलियो बनाउँदै शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत पुर्‍याउने बताए।

कार्यक्रम व्यवस्थापनको जिम्मेवारी पाएको शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले निर्देशनालयबाट प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको जनाउँदै, आगामी दिनमा पनि शैक्षिक सुधारका लागि विद्यालय तयार रहेको बताए।

विद्यालयका अध्यक्ष रामदत्त भट्टले यस्ता कार्यक्रमले शिक्षकहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसर दिएको भन्दै निरन्तरताको आवश्यकता औंल्याए।

कार्यक्रममा सहभागि लक्ष्मी माविका प्रधानाध्यापक प्रमाणन्द नाथले शिक्षकबीचको यस्ता प्रतिस्पर्धाले शैक्षिक वातावरण अझ प्रभावकारी बन्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमले शिक्षकको कला विद्यार्थीमा हस्तान्तरण हुन आवश्यक रहेको बताए।

कार्यक्रम सञ्चालन शान्ति निकेतन माविकी शिक्षिका विमला भट्टले गरेकी थिइन्। कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी र अभिभावकहरूले यस्ता प्रभावकारी कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित