पुनर्वास, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कृषकहरूसँग प्रत्यक्ष संवाद गर्दै पुनर्वासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा तथा पुनर्वास टाइम्स पत्रिकाको समन्वयमा बिहीबार पुनर्वास नगरपालिका–६ स्थित शर्मा पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा रहेका थिए भने अध्यक्षता पुनर्वास टाइम्स पत्रिकाका प्रकाशक लाल बहादुर एस.के.ले गर्नुभएको थियो । विशिष्ट अतिथिका रूपमा पुनर्वास नगर उपप्रमुख भुलिया कुमारी राना सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा कृषकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्री थापाका निजी सचिव शङ्कर बोगटीले मन्त्रालयले कृषि क्षेत्रमा प्रदेशभर गरेका योजनाहरू, उपलब्धिहरू र भावी कार्यदिशाबारे प्रस्तुत गर्दै कृषि आत्मनिर्भरता प्राप्त गर्ने सरकारको दृष्टिकोण स्पष्ट गर्नुभयो ।
उपप्रमुख रानाले स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पुनर्वास नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर मल, बीउ, सिँचाइ सुविधा तथा तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
किसानहरूसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री थापाले प्रदेशभर आधुनिक र व्यावसायिक कृषि प्रणाली विकास गर्न मन्त्रालयले विशेष कार्यक्रम अघि सारेको बताउनुभयो । उहाँले धान, गहुँ, मकै र उखु उत्पादनमा वैज्ञानिक अध्ययन तथा प्रविधिमैत्री विधि अपनाउने, प्रमुख स्थानमा कोल्ड स्टोर निर्माण भइरहेको र पशुपालनमा समेत अनुदान दिइएको जानकारी दिनुभयो ।
“मकै र उखु उत्पादनमा उत्साहित किसानका लागि उखु हार्भेस्टर खरिदको तयारी हुँदैछ,” मन्त्री थापाले भन्नुभयो, “कृषि ऋणमा समेत ५ करोडसम्मको ब्याज अनुदान उपलब्ध गराइएको छ ।”
कार्यक्रममा किसानहरूले आफ्ना समस्या, गुनासा र जिज्ञासा राखेका थिए । मन्त्री थापाले सबै प्रश्नहरूको जवाफ दिँदै कृषकको बाली तथा पशुपालन बिमा गर्न आग्रह गर्नुभयो ।
कार्यक्रम समापन गर्दै पुनर्वास टाइम्सका प्रकाशक एस.के.ले मन्त्री थापाको प्रत्यक्ष उपस्थिति र संवादलाई “ऐतिहासिक प्रयास” को संज्ञा दिँदै भन्नुभयो, “मन्त्रीज्यू कागजमा सीमित नभई काममा विश्वास गर्ने नेतृत्वकर्ता हुनुहुन्छ । उहाँको घरदैलो उपस्थिति राज्यप्रतिको विश्वास बढाउने खालको छ ।”
कार्यक्रमको सम्पूर्ण सहजीकरण दीप न्युज दैनिक पत्रिकाका प्रबन्ध निर्देशक नवराज अवस्थीले गर्नुभएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले नीति निर्मातालाई वास्तविकता नजिक ल्याउने र कृषकहरूलाई कृषि उद्यममा प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेका छन् ।
Discussion about this post