बेलडाँडी, कञ्चनपुर । सडक बन्नुपथ्र्यो विकासका लागि, तर बेलडाँडीको कालिकिचदेखि चवन्नीसम्मको सडक स्तरोन्नति योजनामा गुणस्तरको धज्जी उडाइएको छ । स्थानीयको आक्रोश ज्वालामा परिणत हुन थाल्दा बल्ल “जाँच गर्ने“ नाटक शुरु गरिएको छ, नाटक, जसको स्क्रिप्ट पहिल्यै तयार थियो, निष्पक्षता होइन, ढाकछोपका लागि ।
स्थानीयको बारम्बारको गुनासोपछि बल्ल आज सनिवार सुरु भएको ’प्राविधिक अनुगमन’ जाँच कम, झारा टार्ने अभिनय बढी देखियो । जनगुनासोको भरमा निर्माण साइट पुगेको प्राविधिक टोलीले नागरिकले देखाइदिएको कमजोरी नभइ अर्को भागको वाल भत्काएर हेरेर काम ’अलिकति मात्र कमसल’ भन्ने निष्कर्ष निकाल्न पुग्यो — त्यो पनि त्यहीँ भाग हेरेर जहाँ नागरिकले गुनासो गरेकै थिएनन् ।
स्थानीयको आरोप अनुसार ग्रावेल भनिएको ठाउँमा माटो मात्र हालिएको छ । वाल निर्माणमा चाहिने मसला छैन, ढुङ्गा मात्रै थुपारिएको छ । प्रयोग भएका ढुङ्गा पनि माटो मिसिएको झिल्के, न त ग्रेड मिलेको छ, न त इन्जिनियरको आत्मा बोलेको छ । यही गैरजिम्मेवारीले दुई दिनमै वाल चर्कन थालेको छ, तर प्राविधिक र अनुगमन समिति भने अझै पनि ‘हेरेका छैनौं’को मस्यौदा बोकेर हिडेका छन् जो कि आर्थिक बर्ष सकिन मात्र ४ दिन बाकी रहेका छन् ।
योजना अनुसार १२ मिटर चौडाइमा सडक खुल्ने भनिएको थियो । १० मिटर सडक र २ मिटर नाली भनिएको योजना अहिले ८–९ मिटरमै सिमित छ । कागजमा अलिकति चौडा देखिए पनि जमिनमा सडक सुक्दै गएको देख्दा बेलडाँडीबासीहरु चुप लाग्न तयार छैनन् । किनभने यो विकास होइन, धोका हो ।
९० लाखको योजना आशिष निर्माण सेवाले ५४ लाख ७० हजार रुपैयाँमा ठेक्का पायो । ठेक्का सस्तोमा पाउनु आफैँमा दोष होइन, तर गुणस्तर बिनाको निर्माण भने जनधनको अपमान हो ।
निर्माण कम्पनीका संचालक जनक अवस्थीले निर्माण जिम्मा स्थानीय व्यक्तिलाई दिएको जानकारी दिँदै गुनासोहरूबारे आफू जानकार भएको र कामको निरीक्षण गरेर आवश्यक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“मैले विश्वास गरेर र काम गुणस्तर होस् भनेर स्थानीयलाई जिम्मा दिएको थिएँ । अब गुनासो आएकोले म भोली आफैं आएर हेर्छु, कमजोरी छन् भने सच्याउनेछु,” अवस्थीले भने ।
अझैसम्म ग्रावेलको मापन भएको छैन । चर्किएको वाल समेत नहेरेको गुनासो छ । अनुगमन समितिकी संयोजक समेत फिल्डमा नगएपछि संका झनै गहिरिएको छ । के प्राविधिक र समितिका सदस्यबीच मिलेमतो छ ? के यो अनुगमन होइन, योजनाबद्ध आँखामा पट्टी बाँध्ने प्रयास हो ?
“हामी कर तिर्छौं, बदला चाहन्छौं गुणस्तरीय विकास ।,“ अब भने स्थानीय जनता चुप लाग्ने मूडमा छैनन् । उनीहरूले प्राविधिक, जनप्रतिनिधि र निर्माण कम्पनी सबैलाई जवाफदेही बनाउने तयारी थालेका छन् । विकासको नाममा गरिएको खेलवाड सह्य नहुने उनीहरूको ठोकुवा छ ।
यो तलको लिङ्क पनि हेर्नुहोस्
https://www.facebook.com/share/v/1AtbvuEP6C/
Discussion about this post