कञ्चनपुर । बर्खायाममा बाटो बिग्रिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी अस्थायी रूपमा बन्द गरिएको छ। लगातारको वर्षाले कच्ची बाटोमा हिलो जम्दा गाडीहरू फस्ने र पर्यटकहरूलाई हैरानी हुने भएपछि निकुञ्ज प्रशासनले सफारी रोकिएको जनाएको छ।
निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले सफारी गन्तव्यतर्फ जाने मुख्य रुट— मझगाउँस्थित निकुञ्जको हेडक्वार्टरदेखि विशाल घाँसे मैदानसम्मको सडक हिलोले गाडी गुडाउन नसक्ने बनेपछि सेवा बन्द गर्नुपरेको जानकारी दिए। “गाडीहरू फस्न थालेपछि पर्यटकले असहजता भोग्नुपर्यो,” वाग्लेले भने, “केहीपटक त उद्धार गर्न पनि हम्मे–हम्मे प¥यो।”
निकुञ्जभित्रका अधिकांश सडक कच्ची छन्। केही स्थानमा ग्राभेल गरिएको भए पनि वर्षायाममा ती बाटोहरू हिलोमैलो भइ संचालन योग्य नहुने गरेको छ। यही असार महिनासम्म मात्रै २४ जना विदेशीसहित १११ जना पर्यटकले जंगल सफारी गरेका थिए। यस्तै, जेठसम्म ३,६११ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए।
५४ वर्गकिलोमिटरमा फैलिएको विशाल घाँसे मैदान बाह्रसिंगाको मुख्य बासस्थान हो, जहाँ पर्यटकहरूको मुख्य आकर्षण बाह्रसिंगा अवलोकन नै हो। पछिल्लो गणनाअनुसार निकुञ्जमा २,३०० भन्दा बढी बाह्रसिंगा रहेका छन्। यस्तै, यहाँ ४२ वटा बयस्क बाघ, गैंडा, हात्ती, कृष्णसार, चित्तल लगायतका वन्यजन्तु पनि पाइन्छन्।
स्थानीय पर्यटन व्यवसायी, सरोकारवाला र जनप्रतिनिधिहरूले बर्षैदेखि बाह्रै महिना सञ्चालन गर्न सकिने संरक्षित सडक निर्माणको माग गर्दै आएका छन्। तर बजेटको अभावका कारण सडक स्तरोन्नति हुन सकेको छैन।
निकुञ्ज प्रशासनका अनुसार अब वर्षा सकिएपछि मात्र सफारी पुनः सञ्चालन हुनेछ। बीचमा यदि लामो खडेरी पर्यो वा बाटो सुधार भयो भने केही समयका लागि सफारी खुलाउने सम्भावना पनि खुला राखिएको छ।




















Discussion about this post