कञ्चनपुर । कञ्चनपुर जिल्लामा छाउपडी प्रथा अन्त्य गर्न पालिका-पालिका स्तरीय विशेष अभियान सञ्चालन जिल्ला प्रशासनले पत्राचार गरेको छ ।
हालै कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीको समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट दु:खद निधन भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उक्त अमानवीय प्रथाविरुद्ध कदम चाल्न पालिकाहरूलाई आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा जिल्लाका सबै ९ वटै स्थानीय तहलाई छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। पत्रमा भनिएको छ, “परम्परागत रूपमा चलिआएको यो कुप्रथा अन्त्य गर्न तहाँ पालिकाबाट आवश्यक निर्णय गरी छाउगोठ भत्काउने अभियान संचालन गर्नु/गराउनु हुन अनुरोध छ।”
छाउपडीका कारण महिलाहरू अझैपनि जोखिमपूर्ण र अमानवीय अवस्थामा बस्न बाध्य छन्। कमलाको ज्यान गएपछि यस प्रथाले जीवनमाथि खेलबाड गर्ने अवस्थाको कडा आलोचना भइरहेको छ। स्थानीय तह, सुरक्षा निकाय, महिला समूह तथा नागरिक समाजको समन्वयमा अब यो कुप्रथा पूर्ण रूपमा उन्मूलन गर्न सकिने विश्वास गरिएको छ।























Discussion about this post