प्रधानमन्त्रीको आग्रह : भारी वर्षाबाट सचेत रहन सतर्कता अपनाऔं

काठमाण्डौ । देशका विभिन्न स्थानहरूमा आज दिउँसो भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वानुमानका आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै वर्षाजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनालाई पालना गर्न आग्रह गरेका हुन् ।

“मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ,” प्रधानमन्त्रीले लेखेका छन्, “अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।”

प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई सम्भावित विपद्‌को जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना छ । यसले भू–क्षय, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप निम्त्याउने भएकाले सतर्कता आवश्यक छ ।

विभागले नदी आसपासका बस्तीहरूमा सचेत रहन, खोला तथा पहाड नजिकका क्षेत्रबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित