काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिन आयोग सकारात्मक रहेको बताएका छन्।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गर्दै आइतबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउन पुगेका कानुन व्यवसायीहरूसँगको छलफलका क्रममा भण्डारीले आयोगले यस विषयमा गम्भीर छलफल गर्दै आएको जानकारी गराए।
‘विदेशमा बस्ने नागरिकहरूलाई मताधिकार दिन आयोग सकारात्मक छ,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘यो विषयमा आयोगले २० वटा भन्दा बढी बैठक गरिसकेको छ। अब नेपाल सरकारको ध्यानाकर्षण गराउनु उपयुक्त हुन्छ।’
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पत्र लिएर अधिवक्ता यज्ञमणि न्यौपानेको नेतृत्वमा कानुन व्यवसायीहरूको टोली आयोग पुगेको थियो।
भण्डारीले संविधान प्रदत्त मताधिकार सबै नागरिकले प्रयोग गर्न पाउनुपर्ने उल्लेख गर्दै यस विषयमा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।




















Discussion about this post