छाउगोठमा सर्पले ज्यान गुमाएकी महिलाको घटनालाई आधार बनाई बेलडाँडीका पाँच वडामा छाउपडी विषयक अभिभावक छलफल सम्पन्न

बेलडाँडी । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाई छाउगोठमै सर्पको टोकाइबाट भएको दुखद निधनले छाउपडी प्रथामाथि पुनः चर्को बहस सिर्जना गरेको छ । यही पृष्ठभूमिमा, नेपला समाज कल्याण संघ (एनएनएसडब्लुए) र कञ्चन सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित समावेशी गुणस्तरी शिक्षा परियोजना अन्तर्गत बेलडाँडी गाउँपालिकाका पाँचै वडामा वडा स्तरीय अभिभावक दौतरी समूहमा छाउपडी कुप्रथाको विषयमा छलफल चौतारी कार्यक्रम हिजो शनिवार सम्पन्न भएको छ ।

प्रत्येक वडामा एकदिने छलफल कार्यक्रम वडाअध्यक्ष र सदस्यहरूको आतिथ्यतामा तथा दौतरी समूह संयोजकहरूको अध्यक्षतामा सम्पन्न भएका थिए । विविध वर्ग, समुदाय र अवस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा किशोरी, महिला, अपांगता भएका व्यक्ति तथा उनीहरूको अभिभावक, दलित, जनजाति र थारु समुदायका गरी कुल २४८ जना सहभागी थिए ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष इन्द्र बहादुर खड्काले छाउपडी प्रथाविरुद्ध जनचेतना फैलाउने कार्यमा अग्रसर भएकोमा कञ्चन सामुदायिक विकास केन्द्रलाई विशेष धन्यवाद व्यक्त गर्दै भने, “नेपाल सरकारको निर्देशन पालिकाहरूमा आएको छ, चाँडै नै वडाले पनि यस सम्बन्धी कार्य आरम्भ गर्नेछ । तर, परियोजनामार्फत यस विषयमा समुदायस्तरमै सचेतना फैलाइनु प्रशंसनीय छ ।”

छलफलमा सहभागी महिला तथा किशोरीहरूले थारु समुदायमा छाउपडीजस्तो कुप्रथा लगभग न्यून भइसकेको जनाएका थिए भने पहाडी समुदायमा अझै पनि यसको उपस्थितिले सामाजिक र सांस्कृतिक जरो गहिरो रहेको प्रतित भएको बताए । केही महिलाहरूले अहिले पनि मासिकश्रावको समयमा पाँच दिनसम्म घरकै एक कुनामा अलग बस्नुपर्ने, तर घाँस, दाउरा, सरसफाइजस्ता काम गर्नुपर्ने अवस्था रहेको बताएका थिए । साथै, मासिकधर्म भएको बेला गोरस (दूध, दही) खान नपाइने सामाजिक व्यवहारको उल्लेख हुँदा धेरैले मौनता र लाजसँगै सहमति जनाएका थिए ।

छलफलमा कञ्चन सामुदायिक विकास केन्द्रका प्रतिनिधिहरूले छाउपडीको धार्मिक र सामाजिक पृष्ठभूमि, अन्धविश्वास, विकृति, राज्यको नीति तथा यसले महिलामा पार्ने मानसिक र शारीरिक असर जस्ता विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए । कार्यक्रमलाई गिता राना क्षेत्री (प्रवन्धक), टेक बहादुर सुनार र शुशिला रोकायाले सहजीकरण गरेका थिए भने शिक्षा अधिकृत ऋषिकेश जैरु (एनएनएसडब्लुए) को समेत उपस्थिति थियो ।

कार्यक्रमका अन्त्यमा कञ्चन सामुदायिक विकास केन्द्रले भविष्यमा केन्द्रसँग आबद्ध दौतरी समूहहरूमा पनि यस्ता छलफल कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित