बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ स्थित क्याम्प टोलमा मंगलबार बिहान चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । चितुवा नियन्त्रणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेलुका ५ बजेतिर बाख्रा राखिएको खोर (पिजडा) उखुबारीमा जालझेल गरेको छ ।
उक्त पिजडा क्याम्प टोलका गोपाल अधिकारीको उखुबारीमा राखिएको हो, जहाँ बिहान करिब ७ बजेतिर चितुवा प्रवेश गरेको स्थानीयले देखेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार पूर्वी क्याम्प टोलबाट हुलाकी सडक पार गर्दै चितुवा उखुबारीमा प्रवेश गरेको हो । हाल चितुवा अझै पनि सोही क्षेत्रमा लुकेको आशंका गरिएको छ ।
चितुवाको अवस्थिति र जोखिम मूल्याङ्कनपछि निकुञ्ज कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहकार्यमा बाख्रासहितको पिजडा जडान गरिएको निकुञ्ज प्राविधिक टोलीले जानकारी दिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्ती, सुरक्षाकर्मी र प्राविधिक टोली घटनास्थलमै खटिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । उनका अनुसार चितुवा नियन्त्रण गरी सुरक्षितरूपमा जंगलतिर फर्काउने प्रयास भइरहेको छ ।
निकुञ्जका संरक्षण अधिकृतले उखुबारीजस्ता घना बाली वन्यजन्तुलाई आकर्षित गर्ने भएकाले निकुञ्ज किनारमा यस्ता बालीको सट्टा वैकल्पिक खेती प्रणाली अपनाउन स्थानीय किसानलाई सुझाव दिएका छन् ।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै चितुवा नियन्त्रणका लागि आवश्यक सबै संयन्त्र परिचालित भइसकेको बताए । “चितुवालाई सुरक्षितरूपमा जंगलतिर फर्काउने प्रयास जारी छ,” अध्यक्ष रानाले भने ।
बेलडाँडी आसपासका क्षेत्रमा पछिल्ला केही वर्षयता बाघ, चितुवा र अन्य जंगली जनावरको गतिविधि बढ्दो छ । वनसँग सीमा जोडिएका किसानहरू वन्यजन्तुको आक्रमणका कारण बारम्बार जनधनको क्षतिबाट पीडित बन्न थालेका छन् ।
स्थानीयवासीले दीर्घकालीन समाधानको खोजी गर्दै सरकार र सम्बन्धित निकायसँग वैज्ञानिक र प्रभावकारी योजना तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । “वन्यजन्तुसँगको सहजीवन सम्भव छ, तर त्यसका लागि दीर्घकालीन सोच र पूर्वतयारी आवश्यक छ ।























Discussion about this post