वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘Best Traffic Police of the Month’ घोषित भएका छन्। ट्राफिक व्यवस्थापनमा देखिएको सक्रियता, अनुशासन, कर्तव्यपरायणता र नेतृत्व क्षमताको उच्च मूल्यांकनका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया अन्तर्गत मधेस प्रदेशका आठ जिल्लाबाट संकलित समग्र मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएका हुन्। मूल्यांकन प्रतिवेदनमा भट्टले ट्राफिक ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा छरितो निर्णय क्षमता, जनसम्पर्क, समन्वय र प्रभावकारी नेतृत्व प्रस्तुत गरी विशेष छवि बनाएको उल्लेख छ।
जटिल मानिएको वीरगंज क्षेत्रको ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी बनाउन भट्टले निर्वाह गरेको भूमिका उल्लेखनीय रहँदै आएको छ। यही योगदानको कदर स्वरूप उनलाई रु ६,३०० नगदसहित सम्मान गरिएको हो।
नेपाल प्रहरीले प्रत्येक महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरूप यो सम्मान प्रदान गर्दै आएको छ। असार महिनाको लागि यो सम्मान प्रहरी निरीक्षक भट्टले प्राप्त गरेका हुन्।






















Discussion about this post