कञ्चनपुर, कृष्णपुर । कृष्णपुर नगरपालिका–१ मा छाउगोठ प्रथा अन्त्य गर्न स्थानीय तह र समुदाय मिलेर सक्रिय अभियान थालेका छन्। महिनावारीका समयमा छाउगोठमा बस्न बाध्य भएकी २८ वर्षीया कमला दमाईं (आउजी) को हालै सर्पदंशका कारण मृत्यु भएपछि यो अभियान झनै तीव्र बनाइएको हो।
कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतका अनुसार वडाको निगाली र दोमिल्ला क्षेत्रअन्तर्गत श्रीपुर टोलमा हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन्। उनका अनुसार विशेष समिति गठन गरी छाउगोठ भत्काउने अभियानलाई व्यवस्थित ढंगले अगाडि बढाइएको छ।
“छाउगोठ मात्र भत्काएर पुग्दैन,” वडाध्यक्ष बस्नेतले भने, “समाजमै रहेको गलत बुझाइ हटाउन हामीले समुदायस्तरमै महिनावारीबारे सचेतना फैलाउने अभियान पनि सुरु गरेका छौं।”
स्थानीय बासिन्दाहरू पनि यो अभियानमा उत्साहपूर्वक सहभागी हुँदै आएको वडाध्यक्ष बस्नेतले जनाए। उनका अनुसार, छाउगोठ भत्काउन अवज्ञा गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। साथै, पहरीया क्षेत्रसम्म अभियान विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
कमला दमाईंको मृत्युले समुदायमा गहिरो चोट पुर्याएपछि महिला स्वास्थ्य, सुरक्षासँग जोडिएको यो कुप्रथाको विरुद्ध जनचेतना जाग्न थालेको छ। महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने वैज्ञानिक यथार्थलाई आत्मसात गर्दै समाज रूपान्तरणतर्फ उन्मुख हुँदै गएको संकेत यो अभियानले देखाएको छ।
स्थानीय सरकारको नेतृत्व, समुदायको साथ र सचेतनाको बलमा कृष्णपुरमा छाउगोठ उन्मूलन अभियानले अब सार्थक रूप लिने अपेक्षा गरिएको छ।





















Discussion about this post