सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन १५ गते विश्वासको मत लिने भएका छन्। सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको हो।
नागरिक उन्मुक्ति पार्टी नाउपा ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। यसपछि उनको सरकार जोगाउन अब विश्वासको मत लिनुपर्ने संवैधानिक परिस्थिति सिर्जना भएको हो।
मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार शाहले विश्वासको मत लिने तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस संसदीय दलले साउन १५ गते साँझ ५ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभा बैठकमा सहभागी भई शाहको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ‘ह्वीप’ समेत जारी गरेको छ।
५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक पर्छ। अहिले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद छन्। गठबन्धनको यो अंकगणितले शाहलाई सहजै बहुमत जुट्ने आकलन गरिएको छ।
तर नाउपाको समर्थन फिर्ताले सत्ता समीकरणमा फेरबदलको संकेत देखिन थालेकाले साउन १५ गतेको प्रदेशसभा बैठक सुदूरपश्चिमको राजनीतिक दृष्टिकोणले निर्णायक बन्ने देखिन्छ।





















Discussion about this post