माधव पाैडेल/बेलौरी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा लागुऔषध नियन्त्रण र शान्ति सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार बेलौरीमा सम्पन्न भएको छ। कार्यक्रममा सीमावर्ती क्षेत्रका वडाध्यक्ष, वडा सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति थियो।
प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्मर बहादुर विक, सभापति बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरी, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख रामकुमारी राना लगायतका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले लागू औषध, ठगी, भन्सार छली, घरेलु तथा लैङ्गिक हिंसा, बैंकिङ कसुर लगायतका विषयमा प्रहरीको सक्रियता रहेको बताए। उनले सीमावर्ती क्षेत्रमा बालबालिका समेत लागुऔषधको चपेटामा परेको भन्दै चिन्ता व्यक्त गरे।
छलफलमा बेलौरी, बेलडाँडी र पुनर्वास नगरपालिकाका वडाध्यक्षहरूले खुला सीमा व्यवस्थापन, प्रहरी जनशक्ति अभाव, प्रहरी चौकी स्थापनाको आवश्यकता, बजार क्षेत्रमा प्रहरी बिट स्थापना, चोरी तस्करीको नियन्त्रण र स्थानीयस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
बेलौरी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले “देशका कर्णधार” बालबालिका लागू औषधको लतमा परेका घटनाले भयावह स्थिति उत्पन्न भइरहेको भन्दै खुला सीमामा निगरानी कडा बनाउन आग्रह गरे। पुनर्वास नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मित्र सिंह लामाले “कारबाही भन्दा पहिले समुदायमै सचेतना कार्यक्रमको आवश्यकता छ ।”
अभियान्ता धर्मेन्द्र गिरीले नेपाल–भारत सीमा क्षेत्र लागू औषधको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा प्रयोग भइरहेको बताए। उनले अभिभावकलाई आफ्ना बालबालिकालाई जोगाउन सजग र कठोर बन्न आह्वान गरे।
कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक विकले “लागू औषध नियन्त्रण अहिले प्रहरीको प्रमुख प्राथमिकता हो,” भन्दै प्रहरी एक्लैले यो समस्या समाधान गर्न नसक्ने उल्लेख गरे। स्थानीय सरकार, समाज र समुदाय सबैको सहकार्य अपरिहार्य भएको उनले स्पष्ट पारे।
समापन मन्तव्यमा उपप्रमुख चौधरीले विगतमा सुरु गरिएको “लागू औषध विरुद्धको महाअभियान”मा निरन्तरता नहुनु दुःखद रहेको बताउँदै यस अभियानलाई स्थानीय तहले पुनः सक्रिय रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रम समापन सन्देशमा सहभागी सबैले लागू औषध नियन्त्रणमा समन्वय, चेतना र प्रहरी–समुदाय सहकार्यलाई निरन्तरता दिनुपर्ने साझा धारणा व्यक्त गरेका थिए।




















Discussion about this post