बिकाश सिंह महता/बेलडाँडी । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१७ पुरुष फुटबल छनौट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। महेन्द्रनगरस्थित खुलामञ्चमा सम्पन्न छनौटबाट बेलडाँडी गाउँपालिकाका दुई होनहार युवा-कृष्ण जोशी र रुद्र बहादुर बुढा-केन्द्रका लागि छनौटमा पर्न सफल भएका छन्।
सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा तथा कञ्चनपुर जिल्ला फुटबल संघको समन्वयमा आयोजित उक्त छनौट कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट जम्मा ५२ जना खेलाडी सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा ३६ खेलाडीको नामावली सार्वजनिक गरिएको हो। कृष्ण जोशी ४ औं र रुद्र बहादुर बुढा १३ औं नम्बरमा छनौट सूचीमा रहेका छन्।
दक्षिण एशियाली फुटबल महासंघ (SAFF) अन्तर्गत आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप २०२५ यही भदौ ३० देखि असोज ११ गतेसम्म (सेप्टेम्बर १५–२७) श्रीलंकामा हुने निश्चित भएको छ। यस प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यू–१७ टिम निर्माणको प्रक्रिया अन्तर्गत प्रदेशस्तरीय छनौट सम्पन्न गरी केन्द्रीय चरणतर्फ तयारी सुरु गरिएको हो।
बेलडाँडीका दुई खेलाडीको यस स्तरमा छनौट हुनु गाउँकै लागि गौरवको विषय बनेको छ। उनीहरूको लगन, मेहनत र प्रतिभाले राष्ट्रियस्तरको यू–१७ टोलीमा स्थान सुरक्षित गर्न अझ आत्मविश्वास बढाएको छ।
प्रदेश छनौटमा सफल भएका ३६ खेलाडीलाई अब साउन २२ देखि २५ गतेसम्म हुने केन्द्र स्तरीय छनौटमा सहभागिता जनाउन बोलाइएको छ। त्यसपछि मात्रै राष्ट्रिय टिमको अन्तिम सूची तय गरिनेछ।
सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशीराम बोहराका अनुसार छनौटमा पारदर्शिता र खेल कौशललाई मुख्य मापदण्ड मानिएको हो। उनले भने, “प्रदेशभित्रका सम्भावनाशील खेलाडीलाई राष्ट्रिय टिममा पुर्याउने हाम्रो निरन्तर प्रयास हो।”
बेलडाँडीका कृष्ण जोशी र रुद्र बहादुर बुढाको यो छनौटले गाउँका अन्य युवाहरुलाई पनि फुटबलप्रति आकर्षित गर्ने विश्वास अभिभावक, प्रशिक्षक र स्थानीयहरूले व्यक्त गरेका छन्।
युवाहरुको खेलकुदमा बढ्दो सहभागिता र सफलताले बेलडाँडीलाई अब खेल क्षेत्रको सम्भावनाशील थलोको रूपमा चिनाउने संकेत गरेको छ।






















Discussion about this post