बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ स्थित क्याम्प बस्तीमा पुनः बाघको आतंक देखा परेको छ । शुक्रबार राति ९ बज्न नपाउँदै बाघले स्थानीय मदन भट्टको घरपालुवा कुकुरलाई आक्रमण गरी लगेको घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ ।
स्थानीयका अनुसार घरनजिकै बाटोमा हिँडिरहेका युवाहरूले बाटोछेउ कुकुर मरेको देखेपछि तुरुन्तै भट्ट परिवारलाई खबर गरेका थिए । तर त्यो बेलासम्म कुकुरलाई बाघले तानेर लगिसकेको थियो ।
निकुञ्ज सिमानामा रहेको बस्तीमा पछिल्ला महिनाहरूमा बाघ देखिने र जनावर हराउने क्रम बढ्दो छ । यस्ता घटनाले मानव जीवनसमेत संकटमा पर्ने अवस्था सिर्जना गरिरहेको छ । “यदि समयमै दीर्घकालीन समाधान गरिएन भने बाघको निशाना मान्छेमाथि पनि पर्ने डर रहेको स्थानीयले बताएका छन् ।
बस्तीको किनार क्षेत्रमा न पर्याप्त लाइटको व्यवस्था छ, न त सुरक्षाका उपायहरू नै । निकुञ्ज संग जोडिर काम गर्ने नागरिक समितिले भने पहुँच भएका बस्तीभित्रका समुदायलाई मात्र टर्च लगायतका सामग्री वितरण गरेको स्थानीयको गुनासो छ । यस्ता उपकरण सीमावर्ती घरपरिवारलाई उपलब्ध गराउन सकिएको भए केही हदसम्म राहत मिल्नेथियो भन्ने उनीहरूको धारणा छ ।
अबको प्राथमिकता भनेको निकुञ्ज प्रशासन, स्थानीय तह र संघीय सरकारले समन्वय गरी जंगली जनावरको आतंक न्यूनीकरणका लागि दीर्घकालीन रणनीति तय गर्नु हो। जनधनको सुरक्षाका लागि तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने आवाज गाउँलेहरूले उठाउन थालेका छन् ।






















Discussion about this post