कञ्चनपुर : सामुदायिक वन समन्वय समिति (सिएफसीसी)को २१औं वार्षिक साधारण सभा आइतबार कृष्णपुर–६ स्थित सिहपुर सामुदायिक वनमा सम्पन्न भएको छ। ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार, समावेशी सुशासन र हरित अर्थतन्त्र सम्बृद्धिको आधार’ भन्ने मूल नाराका साथ सम्पन्न सभामा वन, वन्यजन्तु र वातावरण संरक्षणदेखि सामुदायिक वन सुधारसम्मका विषयमा छलफल भएको थियो।
कार्यक्रममा सिएफसीसीका अध्यक्ष महेश दत्त जोशीले गत आर्थिक वर्ष ०८१/०८२ मा जैविक तटबन्ध, वन हेरालु तालिम, विद्यार्थी संरक्षण शिक्षा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गोष्ठी, तारबार निर्माण, डेरी र होमस्टे विकास लगायतका कार्यक्रम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार यी पहलले जैविक विविधता वृद्धि, पर्यटन विकास, रोजगारी सिर्जना, चोरी–तस्करी नियन्त्रण र भूक्षय रोकथाममा योगदान पुगेको छ।
सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष शिवदत्त पन्तले सिएफसीसीले शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी र लालझाडी क्षेत्रका सामुदायिक वनमा सुशासनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताए।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सिएफसीसीको संरक्षण अभियानको प्रशंसा गर्दै आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिए। प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घ नारायण कोईरालाले सरकारी र निजी क्षेत्रबीचको सहकार्यमा संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उपाध्यक्ष नरेश भट्टको सञ्चालनमा सम्पन्न कार्यक्रममा संरक्षणकर्मी, सरकारी तथा गैर–सरकारी संस्थाका प्रतिनिधि र स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।























Discussion about this post