कञ्चनपुर : लालझाडीका किसानमाथि सुरो नेपाल एनजिओले सहकारीमार्फत गरेको ठगी प्रकरणमा नेकपा एमाले पनि खुलेर उभिएको छ। आइतबार जारी प्रेस विज्ञप्तिमा एमाले लालझाडीका अध्यक्ष ओमप्रकाश रानाले दोषी संस्थामाथि कारबाही र पीडित किसानको रकम तत्काल फिर्ता गराउने पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
विज्ञप्तिमा ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण दिने भन्दै सुरो नेपालले दोदा साना किसान सहकारी र अनमोल कृषि सहकारीमार्फत रकम दुरुपयोग गरेको आरोप लगाइएको छ। एमालेले पार्टीसँग जोडिएको व्यक्तिको संलग्नता भए छानबिन गरी तुरुन्त कारबाही गर्ने चेतावनी समेत दिएको छ।
यसअघि कांग्रेस र माओवादी केन्द्रले पनि किसानको रकम अपचलन गर्नेविरुद्ध आवाज उठाइसकेका थिए। कांग्रेस नेता गोपाल गुरुङले ‘दुई–चार जनालाई मात्र पक्राउ गरेर पुग्दैन, किसानको पसिना खाने सबैलाई कारबाही होस्’ भन्दै माग राखेका छन्। माओवादी केन्द्र लालझाडीका अध्यक्ष भक्ता रानाले पनि किसानको हकहितमा आफ्नो प्रतिबद्धता दोहोर्याए।
झन्डै ३ सय किसानले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण दिने भन्दै अनमोल र दोदा सहकारीमा अढाई करोड रुपैयाँभन्दा बढी जम्मा गरेका थिए। तर, सुरो नेपालले ७५ प्रतिशत अनुदान दिने भन्दै थप रकम उठाएको र बाँकी २५ प्रतिशत रकम कहाँ गयो भन्ने प्रश्न अझै अनुत्तरित रहेको किसानको गुनासो छ।
सुरोको ठगीविरुद्ध पीडित किसान हाल तालाबन्दी र आन्दोलनमा उत्रिएका छन्। ‘देशमा तीन–तीन तहका सरकार भए पनि किसानले न्याय पाउँछन् कि पाउँदैनन्?’ भन्ने आशंका गाउँमा व्यापक भएको छ।























Discussion about this post