कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कञ्चनपुर जिल्ला सचिव रामदत्त भट्ट पुर्पक्षका लागि कारागार चलान भएका छन् भने उनकी श्रीमती सादा तारेखमा रिहा भएकी छन्।
साउन ३ गते शनिबार भीमदत्त नगरपालिका–७ की एक महिलाले आत्महत्या गरेकी थिइन्। सो घटनापछि मृतकको परिवारले भट्ट दम्पत्तीमाथि आत्महत्या दुरुत्साहन गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए। जाहेरी दर्ता भएपछि प्रहरीले दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार, शुक्रबार जिल्ला अदालतले भीमदत्त नगरपालिका–६ निवासी रामदत्त भट्टलाई पुर्पक्षका लागि कञ्चनपुर कारागार चलान गर्ने आदेश दिएको हो। भट्टकी श्रीमतीलाई भने अदालतले सादा तारेखमा रिहा गरेको उनले बताए।
आरोपपत्रमा उल्लेख भएअनुसार, भट्ट दम्पत्तीले पीडित महिलामाथि विभिन्न दबाब र मानसिक त्रास सिर्जना गर्दै आत्महत्या गर्न बाध्य पारेको दाबी गरिएको छ। प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
रामदत्त भट्टले २०८१ सालको उपनिर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका–६ बाट उम्मेदवारी दिएका थिए। उनकी श्रीमती गणेश माध्यमिक विद्यालय, भुर्षा बेलडाँडीकी शिक्षिका हुन्।






















Discussion about this post