लाल ब. पुनर्वास । कानुन तथा संसदीय व्यवस्था मन्त्रालयको स्वीकृत कार्यक्रम अन्तर्गत बहुउद्देश्य विकास समाज (MPDS), डडेलधुरा को आयोजनामा पुनर्वास नगरपालिका वडा नं. १, २ र ४ मा महिला तथा लक्षित समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले घुम्ती कानुनी सेवा र समुदाय संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम पुनर्वास नगरपालिकासँगको सहकार्यमा सञ्चालित भएको हो। सहजकर्ता पुष्कर चन्दको संयोजनमा कार्यक्रम अघि बढाइएको थियो, जसमा महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायत अन्य समावेशी समुदायहरूलाई लक्षित गर्दै कानुनी जानकारी, छलफल तथा निशुल्क कानुनी परामर्श प्रदान गरिएको थियो।
अधिवक्ता सुरेन्द्र सिंह भण्डारीद्वारा कार्यक्रमस्थलमै निशुल्क कानुनी परामर्श दिइएको थियो। कानुनी शिक्षा र सेवामा पहुँच पुर्याउने उद्देश्यले गरिएको यो पहल अन्तर्गत समुदायमै पुगेर समस्या सुन्ने, बुझ्ने र समाधान खोज्ने प्रयास गरिएको हो।
“ए.एस.जी. कार्यक्रम” अन्तर्गत सञ्चालित यस अभियानले ग्रामीण क्षेत्रका महिलाहरू तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूमा न्यायप्रति विश्वास, आत्मबल र अधिकारबोधको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा सहभागी समुदायका प्रतिनिधिहरूले यस्तो किसिमका कार्यक्रमहरूले संवेदनशील मुद्दाहरूमा खुला छलफल र समाधान खोज्ने बाटो खोल्ने प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो कार्यक्रमले कानुनी अज्ञानताका कारण हुने समस्याबाट जोगिन मद्दत मिल्ने समेत बताएका छन्।
MPDS डडेलधुराले सबै वडाहरूमा क्रमशः यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिँदै, स्थानीय सरकार, नागरिक समाज र समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको आयोजक संस्थाले उल्लेख गरेको छ।






















Discussion about this post