कञ्चनपुर, बेलौरी – बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको नेतृत्वमा बुधबार बेलौरी बजार क्षेत्रमा व्यापक अनुगमन सञ्चालन गरिएको छ। दिउँसो १ बजेदेखि सुरु भएको अनुगमनमा इलाका प्रहरी कार्यालय बेलौरी, इलाका प्रशासन कार्यालय त्रिभुवनवस्ती, बेलौरी उद्योग वाणिज्य संघ, बेलौरी युथ नेटवर्किङ क्लबका प्रतिनिधि तथा स्थानीय पत्रकारहरूको सक्रिय सहभागिता थियो।
अनुगमन टोलीले किराना पसल, होटल, फेन्सी पसल, खोका तथा रेस्टुरेन्टहरूमा बिक्री भइरहेका खाद्य सामग्री निरीक्षण गर्दै म्याद गुज्रिएका सामान, अखाद्य वस्तु, स्वास्थ्यमा हानिकारक रंग, र भारतबाट भित्र्याइएका केही प्रतिबन्धित पेय पदार्थ जफत गर्यो। साथै दर्ता नभएका पसललाई तोकिएको समयभित्र दर्ता गर्न निर्देशन दिइयो।
उपप्रमुख चौधरीले बजारमा अखाद्य र अवैध वस्तुको बिक्रीबारे सूचना पाएपछि व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको बताए। “२०७९ मा निर्वाचित भएलगत्तै कालो पोलिथिनमा प्रतिबन्ध लगाएका थियौं, तर अझै बजारमा देखिएको छ। यसपटक म्याद गुज्रिएका सामग्री र प्रतिबन्धित पेय जफत गर्यौं, अर्को अनुगमनमा कानुनअनुसार कारबाही हुनेछ,” उनले चेतावनी दिए। चौधरीका अनुसार एक वर्षमा कम्तीमा चार पटक बजार अनुगमन गरिनेछ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले गौरा पर्व नजिकिएकाले मिलावटी खाद्य पदार्थ र प्रतिबन्धित पेयको बिक्री रोक्न अनुगमन गरिएको बताए। संघ र नगरपालिकाबीच सक्रिय समन्वय रहेको उनले बताए।
बेलौरी युथ नेटवर्किङ क्लबका अध्यक्ष केशव बोहराले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तीजन्य, मदिराजन्य र गुट्खा जन्य पदार्थ नबेच्न व्यापारीलाई सचेत गराइएको जानकारी दिए। क्लबले बालबालिकालाई खेलकुदमा आकर्षित गर्ने अभियान सञ्चालन गर्ने योजनासमेत सार्वजनिक गरेको छ।
नगरपालिकाले यस्ता अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य र हक अधिकारको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता जनाएको छ।





















Discussion about this post