कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरको भोली (साउन ३१) गते हुने निर्वाचनमा बेलौरीका अशोक पाण्डेय मन्त्री पदका लागि बलियो उम्मेदवारका रूपमा उभिएका छन्।
२०६५ सालदेखि निरन्तर रेडक्रसमा आबद्ध पाण्डेयले लामो समयको अनुभव र विपद् व्यवस्थापनमा हासिल गरेको दक्षतालाई यसपटक संस्थागत विकास र सेवा विस्तारमा प्रयोग गर्ने लक्ष्य लिएका छन्। विज्ञहरूका अनुसार, कञ्चनपुर रेडक्रसलाई थप उचाइमा पुर्याउन पाण्डेयजस्तो इमानदार, सक्रिय र व्यवहारिक नेताको खाँचो छ।
बेलौरी नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीसमेत रहेका पाण्डेय नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन हुन्। विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापना कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका उनले रेडक्रसका विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूमा नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन्।
निर्वाचनमा विजयी भएपछि पाण्डेयले संस्थाको आन्तरिक व्यवस्थापनमा पारदर्शिता, सदस्यहरूको सक्रियता, विपद् व्यवस्थापन क्षमतामा सुधार, युवा स्वयंसेवकको सहभागिता विस्तार र समुदायस्तरमै प्रत्यक्ष सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
पाण्डेयले भने, “रेडक्रस केवल संस्था मात्र होइन, यो समुदायको संकटमा पहिलो सहारा हो। म यसलाई अझ सक्षम, पारदर्शी र सेवा-केन्द्रित बनाउन सम्पूर्ण प्रयास गर्नेछु।”
स्थानीय स्वयंसेवकहरू, रेडक्रसका पुराना सदस्यहरू र विपद् व्यवस्थापनमा संलग्न व्यक्तिहरूले पाण्डेयको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूको विश्वास छ-अनुभव, प्रतिबद्धता र सेवाभावको संयोजन भएकाले अशोक पाण्डेयको जित कञ्चनपुर रेडक्रसका लागि महत्वपूर्ण मोड बन्नेछ।





















Discussion about this post