गौरा पर्वको रौनकसँगै बेलडाँडीमा फुटबल महोत्सव शुरु : विजेतालाई ८२ हजार नगद पुरस्कार

विकास महता/बेलडाँडी । सुदूरपश्चिमेलीको महान धार्मिक तथा सांस्कृतिक पर्व गौरा पर्वको अवसरमा कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा आठौं संस्करणको खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

बेलडाँडी गाउँपालिका–१ मा अवस्थित अलस्टार युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले गरे । उनले खेलकुद प्रतियोगिताले ग्रामीण भेगमा खेलकुदको विकाससँगै सामाजिक रुपान्तरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक मनोज खडायतका अनुसार प्रतियोगितामा आयोजक सहित १६ टिमबीच प्रतिस्पर्धा हुने जनाए । यसपटक क्लबकै इतिहासमै सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता आयोजना गरिएको हो ।

अलस्टार क्लबका अध्यक्ष लोकबहादुर बलायरले गौरा महेश्वरी र कालिका मन्दिर नजिकैको मैदानमा हुने प्रतियोगिता नयाँ ढंगले प्रस्तुत गर्न लागिएको उल्लेख गरे । उनका अनुसार प्रतियोगितामा विजेताले नगद ८२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् । उत्कृष्ट खेलाडीहरूलाई पनि विभिन्न शीर्षकमा पुरस्कारको व्यवस्था गरिएको छ ।

क्लबका सचिव धनबहादुर महताले प्रतियोगितामा सहभागिता जनाउने टोलीका लागि ६ हजार १ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको बताए । उनले खेलकुदमैत्री समाज निर्माणमा सबैलाई एकजुट हुन आग्रह गरे ।

गौरा पर्व धार्मिक आस्था र सांस्कृतिक ऐक्यबद्धताको मात्र प्रतीक नभई खेलकुद र सामाजिक एकताको माध्यमसमेत बनेको छ । हरेक वर्ष यस पर्वको रौनकसँगै आयोजना हुने फुटबल प्रतियोगिताले धर्म, संस्कृति र खेलकुदलाई एकैसाथ उर्जा दिने माध्यम बनेको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित