बेलडाँडी । भीमदत्त नगरपालिकाकी उप–प्रमुख निलम लेखक जोशीलाई नगरका महिलाद्वारा सम्मान गरिएको छ । नगरका महिला दिदीबहिनीहरुको सक्रियता र एकताको प्रतीक स्वरूप वडा नं.१ मा रहेको “योगदान राष्ट्रको लागि” नामक संस्थाले आइतवार आयोजना गरेको तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रममा उपमेयर लेखकलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख आतिथिसमेत रहेकी लेखकलाई वडाबासी महिलाहरुले “जनमैत्री उपमेयर” भन्दै विशेष सम्मान गरेका हुन् । उपस्थित महिलाहरुले लेखकलाई निमुखा, विपन्न, गरिब, असहाय र दलित वर्गका लागि दिनरात नभनी खटिने नेतृत्वकर्ता भन्दै प्रशंसा गरेका थिए । निर्वाचित भएदेखि निरन्तर सेवामुखी भावनाले काम गरिरहेकी उपमेयर लेखकलाई पाउनु आफूहरुको सौभाग्य भएको महिलाहरुले बताए ।
कार्यक्रममा महिलाहरुले उपमेयरसँगै नाचगान गर्दै तीजको उल्लास साटेका थिए । महिलाहरुले भने, “समान दृष्टि, न्यायपूर्ण सोच र आम जनताको पक्षमा दृढतापूर्वक उभिने क्षमता भएकी उपमेयर लेखक हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ ।”
सम्मान ग्रहण गर्दै उपमेयर लेखकले वडावासी महिलाप्रति आभार व्यक्त गर्दै भनिन् – “यो सम्मानले मलाई अझ बढी जनपक्षधर भएर काम गर्न हौसला दिएको छ । म नगरवासी सामु गरेका बाचा पुरा गर्ने क्रममा निरन्तर खटिरहनेछु ।”
उनले नगरवासीलाई समान दृष्टिले हेर्ने प्रतिबद्धता दोहोर्याउँदै, जनताको विश्वास जित्न सफल हुनु नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि रहेको उल्लेख गरिन् । उपमेयर लेखकले थपिन् -“जनताको समर्थनले मेरो हरेक कदमलाई शक्ति दिएको छ, अब बाँकी जन–प्रतिबद्धता पूरा गरेर अझ धेरैको मन जित्नेछु ।”
कार्यक्रममा सहभागी महिलाहरुले नृत्य र सामूहिक उत्सवमार्फत वातावरणलाई उल्लासमय बनाएका थिए । तीजको बहानामा आयोजित यो विशेष कार्यक्रममा वडावासी महिलाले नेतृत्व र जनसेवामा उपमेयर लेखकको भूमिका उच्च मूल्याङ्कन गर्दै निरन्तर सफलताको शुभकामना दिएका थिए ।






















Discussion about this post