नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिमको अध्यक्षमा पुनः बुडाल निर्वाचित

कञ्चनपुर । नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बलदेवसिंह बुडाल पुनः निर्वाचित भएका छन्। सोमबार कञ्चनपुरको पुनर्वासमा सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट बुडाल निर्विरोध निर्वाचित भएका हुन्।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मुक्ति प्रसाद सुवेदी, महासचिवमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा नविन शर्मा तथा सदस्यमा खडक बिक्रम थापा, दिलीप ब. चन्द र विष्णुदत्त पाण्डेयलाई निर्विरोध चयन गरेको छ।

झण्डै साढे तीन दशकदेखि ईटा व्यवसायमा संलग्न बुडालले आफ्नो कार्यकालमा व्यवसायीका हकहित र सुरक्षाका सवालमा प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्घाटन समारोहमा उनले राज्यले ईटा व्यवसायीमाथि गरेको अन्यायबारे दुःखेसो पोख्दै युवा पुस्ता विदेशिनु दुखद भएको उल्लेख गरे। साथै, स्वदेशमै ईटा उद्योगलाई रोजगारीको अवसरको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगर प्रमुख तोय प्रसाद शर्माले व्यवसायीका समस्या समाधानका लागि नगरपालिकाबाट पहल गर्ने आश्वासन दिए। विशेष अतिथि तथा महासंघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रजापतिले समेत सरकारले ईटा उद्योगलाई बेवास्ता गर्दै व्यवसायीलाई मारमा पारेको बताए।

त्यसैगरी, केन्द्रीय सदस्य दिपेन्द्र ऐरले अत्यधिक करको भारले व्यवसायी दबिएको बताए भने सेती–महाकाली ईटा तथा टायल उद्योग अध्यक्ष कृष्ण तामाङले बैंकिङ्ग प्रणालीदेखि नीतिनियमसम्म ईटा उद्योगीहरू मारमा परेको धारणा राखे।

कार्यक्रममा सहभागी व्यवसायीहरूले करलगायतका विविध विषयमा राज्यले अन्याय गरेको भन्दै गुनासो पोखेका थिए। देश निर्माणका लागि अपरिहार्य ईटा उत्पादन गर्ने व्यवसायीलाई सम्मान गर्नुपर्नेमा उल्टै दवाव बढाइएको उनीहरूको भनाइ थियो।

नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशका निर्वतमान कोषाध्यक्ष तथा नव–निर्वाचित महासचिव सुरज श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उद्योगी–व्यवसायीको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित