महाकाली नदी किनारमा ऋषि पञ्चमी : ब्रतालुको ठूलो भिड, दिनभर लाग्छ मेला

डिल्लीराज पन्त/कञ्चनपुर- कञ्चनपुरको महाकाली नदी किनारमा बिहीबार ऋषि पञ्चमीको अवसरमा व्रत बस्ने महिलाको ठूलो भिड लागेको छ । तीजको अन्तिम दिन सप्तऋषिको पूजा अर्चना गर्ने परम्परा अनुसार बिहानैदेखि रामेश्वर घाट, ऐरी घाट र हरिहर घाटमा ब्रतालु महिलाहरु स्नान र पूजा अर्चना गर्न पुगेका हुन् ।

स्थानीय महिला सुशिला साउदले भनिन्, “रजस्वला अवधिमा कुनै त्रुटि भएको भए आज नुहाईधुवाई गरी सप्तऋषि तथा अरुन्धतीको पूजा अर्चना गर्दा पापमोचन हुन्छ भन्ने विश्वासले हामी हरेक वर्ष यहाँ आइरहेका छौं ।”

शास्त्रीय मान्यताअनुसार आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुने विश्वास छ । स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा अर्चना गरिन्छ ।

महाकाली किनारमा आयोजित पूजामा कञ्चनपुर, कैलाली मात्र नभई भारतका सिमावर्ती गाउँबाट समेत ब्रतालु महिलाहरु आउने गरेका छन् । पण्डित लोकराज पन्तका अनुसार ऋषि पञ्चमीको दिन यहाँ व्रतालु महिलाहरुको भीडभाडका कारण दिनभर मेला नै लाग्ने गर्दछ ।

यसैबीच भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापाले पछिल्ला वर्षमा धार्मिक घाटहरुलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय सरकार सक्रिय भएको बताए । उनका अनुसार यसले मौलिक पर्व जगेर्नामा महत्वपूर्ण योगदान पु¥याएको छ ।

हरेक भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने परम्परा भएकै कारण यो दिनलाई ऋषि पञ्चमी भनिएको हो । पूजा पश्चात महिलाहरु दिनभर भजन–कीर्तन, नाचगान गर्दै रमाइलो गर्ने परम्परा छ ।

विगत एक सातादेखि हर्षोल्लासपूर्वक मनाइँदै आएको हिन्दू नारीको महान् पर्व तीज पनि ऋषि पञ्चमीसँगै विधिवत् रुपमा समापन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित