बेलौरी । बेलौरी नगरपालिकामा एउटा साधारण चोकको नामले ठूला दल र युवा पुस्ताबीचको संघर्ष प्रस्ट देखिएको छ । संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिंह बिष्टको घर नजिकैको चोकलाई, बिष्टकै प्रभावमा, संविधान चोक नाम दिइएको थियो । तर भाद्र २३ र २४ गतेको आन्दोलनपछि परिवर्तनको हुंकारसँगै बेलौरीका जेन–जी पुस्ता र समर्थकहरूले त्यही चोकमा नयाँ बोर्ड टाँसी ‘जेन–जी चोक’ घोषणा गरे ।
समस्या त्यतिमै रोकिएन । संविधान दिवस मनाउने बहानामा बेलौरीका तीन ठूला दलले युवाले राखेको ‘जेन–जी चोक’ नाम मेटाउँदै पुनः पुरानो नाम ‘संविधान चोक’ ठड्याएपछि स्थानीयहरू आक्रोशित बने । दलहरूको यस कदमलाई स्थानीयहरूले “जनताको चाहना कमजोर पार्ने खेल” भन्दै तीव्र विरोध गरे ।
स्थानीयवासीको गुनासो छ – “दलहरूलाई चोकको नाममा राजनीति गर्ने समय छ तर बेलौरीभित्रको बेथिति, भ्रष्टाचार र भारतको हस्तक्षेपले पचुईदेखि कालो पुलियासम्मको सडक खोल्नुपर्ने विषयमा चासो छैन ।” उनीहरूको व्यंग्यात्मक टिप्पणी हो- “आज संविधान चोक, भोलि जेन–जी चोक, अनि फेरि संविधान चोक राख्नु ठूला दलहरूको ठूलो उपलब्धि भएछ । यदि यति ठूलो परिवर्तन गर्न सक्ने हो भने, अब पचुई क्षेत्रको सीमा विवादको बाटोको समस्या पनि तीन दल मिलेरै समाधान हुने आशा गर्नुपर्छ ।”
युवाहरूले भने सहिदहरूको सम्झनामा ‘जेन–जी चोक’ नामकरण गर्दा दलहरूले उल्टै उनीहरूको मनोबल तोड्ने काम गरेको भन्दै रोष पोखेका थिए । उनीहरू भन्छन् – “सकारात्मक परिवर्तन गर्ने युवाहरूको कदमलाई समर्थन गर्नुको साटो, दलहरूले कमजोर पार्ने खेल खेलिरहेका छन् । यसको हिसाब किताब जनताले फेरि दिने दिन टाढा छैन ।”
स्थानीयहरूले दलहरूको भूमिका प्रति निराशा व्यक्त गर्दै, “३६ घण्टा नबित्दै सत्ता उल्टाउने जेन–जी पुस्ता नेपालको पहिलो इतिहास बनेको छ, त्यसलाई सम्मान गर्नुपर्ने हो, कमजोर पार्ने होइन” भन्नेमा जोड दिएका छन् ।
दलहरूले उपलब्धि देखाउन नसकेको, भ्रष्टाचार नियन्त्रणमा चुप लाग्ने र विकासका वास्तविक मुद्दा पन्छाउने क्रममै, बेलौरीमा युवाले उभ्याएको ‘जेन–जी चोक’ परिवर्तनको प्रतीक बनेको छ । संविधान चोक फेरि फर्काइए पनि जनतामा भने विश्वास ‘जेन–जी चोक’ तर्फै बढ्दो छ ।
























Discussion about this post