काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले राजनीतिक दबाबका कारण रोकिएका सबै ठूला फाइलहरूको अनुसन्धान तत्काल अघि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन्।
शुक्रबार बिहान सीआईबीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा अनुगमनका क्रममा मन्त्री अर्यालले कुनै पनि दबाब वा प्रभावमा नपरी निष्पक्ष ढंगले काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालय स्रोतका अनुसार, उनले विगतमा राजनीतिक कारणले स्थगित भएका फाइलसमेत छिटो अघि बढाउन आदेश दिएका छन्।
‘गृहमन्त्री अर्याल आज बिहान अनुगमनका लागि सीआईबी पुग्नुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘उहाँले कुनै दबाब नमानि काम गर्न र अघिल्ला वर्षमा राजनीतिक कारणले रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिनुभयो।’
उक्त अनुगमन तथा निरीक्षण कार्यक्रममा प्रहरी महानिरीक्षक कुवेरचन्द्र खापुङ, सीआईबी प्रमुख एआईजी डा. मनोज केसीसहित उच्च प्रहरी अधिकारीहरू सहभागी थिए। गृह मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै एआईजी मनोज केसीको सीआईबीमा सरुवा भएको थियो।






















Discussion about this post