काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेको छ । शनिबार सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले शक्तिशाली वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै पहिलो पटक फुल मेम्बर राष्ट्रविरुद्धको जित दर्ता गरेको हो ।
१४९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९–१९ रन जोडे । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट दिलाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रनको महत्वपूर्ण पारी खेले । कुशल मल्लले २१ बलमा ३० रन (२ चौका, २ छक्का) जोडे भने गुलशन झाले २२ रन र दिपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
१२ रनमै दुई विकेट गुमाएको अवस्थामा कप्तान पौडेल र मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए । यद्यपि अन्तिम ओभरतिर रनको गति बढाउन नसक्दा नेपाल १५० रनभन्दा अघि बढ्न सकेन ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ३ विकेट हात पारे भने कप्तान अकिल होसेनले १ विकेट लिए ।
नेपालले यसअघि भारत, अफगानिस्तान, बंगलादेशजस्ता टिमसँग ठूलो प्रतियोगितामा खेल्ने अवसर पाए पनि कुनै फुल मेम्बर राष्ट्रलाई पराजित गर्न सकेको थिएन । तर, आजको जितसँगै नेपालले क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको छ ।
यस ऐतिहासिक जितले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा थप आत्मविश्वास दिलाएको छ । नेपाली खेलाडीहरूको जुझारुपन र टोली भावना प्रशंसनीय रह्यो । नेपालले देखाएको यो प्रदर्शनले अब विश्व क्रिकेटमा आफ्नो उपस्थिति मजबुत पार्ने विश्वास जगाएको छ ।






















Discussion about this post