बेलाैरीमा भ्रष्टाचारविरुद्धको जेन-जी आन्दोलन दवाउन अर्को जेन-जेड समूह खडा

बेलाैरी । बेलौरी नगरपालिकामा जारी जेनजी आन्दोलन मत्थर पार्न अर्को नयाँ जेन-जेडले एक हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गर्दै आमनेसामने देखिने सम्भावना बनेको छ। भ्रष्टाचार र बेथितिविरुद्ध सुरु भएको जेन-जी आन्दोलनलाई नियन्त्रण गर्न नगरभित्रै अर्को जेन-जेड समूह खडा गरिएको भन्दै आन्दोलित पक्षले गम्भीर आपत्ति जनाएको छ।

बेलौरी नगरपालिका प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी नवगठित समूहले बुधबार एक विज्ञप्ति जारी गर्दै बेलौरीमा भइरहेका आन्दोलनलाई गैर–जिम्मेवार र स्वार्थपरक गतिविधि भएको आरोप लगाएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनको मूल मन्त्र ‘भ्रष्टाचारमुक्त, उत्तरदायी र जनमुखी शासन’ हो। तर, बेलौरीमा केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि कार्यालयको काम–काजमा अवरोध पु¥याइरहेका छन्। यस्ता गतिविधिहरू सहिदहरूको बलिदानमाथि ठट्टा गर्नु सरह हो।”

नगरपालिकाको धारणा अनुसार, आन्दोलनकारीहरूले अघि सारेका मागहरू मध्ये अधिकांश विषयहरूमा नगरले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जनाएको छ। जसमा ‘Gen–Z चोक’ निर्माण, करार कर्मचारी व्यवस्थापन, सडक मर्मत, ढल निकास निर्माण र हाट बजार सञ्चालन लगायतका विषयमा कार्य अघि बढिरहेको उल्लेख गरिएको छ।

तर आन्दोलित ‘जेनजी बेलौरी’ ले भने यसलाई आन्दोलन दबाउने रणनीति भन्दै आपत्ति जनाएको छ। उनीहरूका अनुसार भ्रष्टाचार र गैर-जिम्मेवार प्रशासनिक कामविरुद्ध जनताको आवाज बुलन्द हुँदै गर्दा त्यसलाई कमजोर पार्न पालिका नेतृत्वकै निर्देशनमा अर्को जेन-जेड समूह खडा गरिएको हो।

आन्दोलित पक्षका एक प्रतिनिधिले पश्चिम समाचारसँग भने, “हामी जनताको पक्षमा उत्रिएका हौँ, तर अहिले नगरपालिकाले आन्दोलन दबाउने उद्देश्यले अर्को जेन-जेड बनाएको छ। यसले जनताको आवाज दवाउन खोजिएको छ।”

जारी विज्ञप्तिमा धम्की, तोडफोड र कुटपिटका चेतावनीहरूबारे गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधिको भर्त्सना गरेको छ। साथै शान्ति, विकास र सुशासनका पक्षमा सबैलाई एकजुट हुन आग्रह गरेको छ।

एकै नामका दुई आन्दोलनले बेलौरीको राजनीतिक माहोल अझ चर्किँदै गएको छ। एक पक्षले भ्रष्टाचारविरुद्धको संघर्षलाई निरन्तरता दिइरहेको बताउँछ भने अर्को पक्षले शान्ति र विकासका नाममा त्यसलाई नियन्त्रण गर्ने प्रयत्न गरेको देखिन्छ।

स्थानीयहरू भन्छन्, “बेलौरीमा जेनजी आन्दोलनले जन्माएको चेतना महत्वपूर्ण थियो, तर यसै विरूद्व अर्को समूह खडा गरिएपछि आन्दोलनको उद्देश्य अन्याैल बन्ने सम्भावना देदिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित