कञ्चनपुर । कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्चका लागि सहयोग गरिएको छ।
गत वर्ष ०८१ सालको चैत महिनामा जिल्लाका क्रियाशील पत्रकारहरूले होली खेल्दा संकलित रकमबाट विवशको उपचारमा सहयोग गरिएको हो।
केही दिनदेखि पेटसम्बन्धी रोगले ग्रस्त पत्रकार विवश अहिले महाकाली अस्पतालमा उपचाररत छन्। आर्थिक अभावका कारण कठिनाइ भोगिरहेका विवशलाई सहकर्मी पत्रकारहरूले उपचार खर्च जुटाइदिएपछि अस्पतालमा भावनात्मक माहोल सृजना भएको छ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायले विवशलाई औषधोपचारका लागि नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।
सहयोगका क्रममा उनले भने, “पत्रकार विवशजस्ता अग्रज सहकर्मी हाम्रो साझा सम्पत्ति हुन्, हाम्रो होलीको रमाइलो रकम आज उनीका घाउमा मलम बनेको छ।”
विकल्प दैनिकका सम्पादक समेत रहेका विवश एमाले निकट प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य हुन्। दुई दशकभन्दा बढी समयदेखि उनी सामाजिक, आर्थिक र सांस्कृतिक मुद्दा उजागर गर्दै पत्रकारितामा सक्रिय छन्।
सहकर्मी बिरामी भएको खबर थाहा पाएपछि जिल्लाका पत्रकारहरू अस्पताल पुगेर विवशको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
उनी भन्छन्, “अस्पतालको सैयामा हुँदाहुँदै पनि सहकर्मीहरूले साथ दिएको महसुस भयो। सबै पत्रकारप्रति म हृदयदेखि आभारी छु।”
होलीको रमाइलो अवसरमा पत्रकारहरूले संकलन गरेको रकम आज एक सहकर्मीको उपचारमा प्रयोग हुनु पत्रकारबीचको एकता र मानवीय सम्बन्धको सुन्दर उदाहरण बनेको छ।






















Discussion about this post