सन्दीप र रोहित चम्किदा नेपालले कतारलाई ५ रनले हरायो, सुपर सिक्समा दोस्रो जित

काठमाडौं । सन्दीप लामिछानेको घातक बलिङ र कप्तान रोहित पौडेलको आकर्षक अर्धशतकको बलमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमै अलआउट भयो । कतारका लागि इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रन बनाए पनि अन्य ब्याटरहरू टिक्न नसक्दा जित हातबाट फिस्लियो ।

नेपालका बलरहरू मध्ये सन्दीप लामिछाने आज पूर्ण रूपमा चम्किए । उनले ५ विकेट लिएर कतारी ब्याटिङ लाइन ध्वस्त पारिदिए । नन्दन यादवले २ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । साथै, ऐरी र आदिल अन्सारीका सटीक रनआउटहरूले खेलको पासा नेपालतर्फ फर्काएको निर्णायक क्षण बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ४१ बलमा ५८ रनको अर्धशतकको मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन र गुल्शन झाले ८ बलमा १६ रनको तेज पारी खेले ।

कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३–३ विकेट लिए पनि नेपालको संघर्षशील प्रदर्शन रोक्न सकेनन् ।

यो जितसँगै नेपालले सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गर्दै विश्वकप छनोटको दौडमा बलियो स्थिति कायम गरेको छ । सन्दीप र रोहितको प्रदर्शनले नेपाली खेलाडी र समर्थक दुवैको मनोबल अझ उच्च बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित