बेलडाँडी । सत्य, धर्म र मर्यादाको प्रतीकका रूपमा रामलीला महोत्सव बेलडाँडी र बेलौरी क्षेत्रमा यस वर्ष पनि अत्यन्तै उत्साह, उमङ्ग र भक्तिभावका साथ प्रारम्भ गरिएको छ।
बेलडाँडी गाउँपालिका-१ सिद्धचोकस्थित सिद्धनाथ मन्दिर नजिक सिद्धनाथ रामलीला समितिका अध्यक्ष श्याम बहादुर रावलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले शुभारम्भ गर्नु भयो।
प्रमुख रानाले उद्घाटन मन्तव्यमा भन्नुभयो, “रामलीला केवल धार्मिक प्रस्तुति होइन, यो हाम्रो संस्कृति, आस्था र एकताको जीवन्त प्रतीक हो। भगवान् रामको आदर्श, सत्य र धर्म आजको समाजका लागि मार्गदर्शन हुन्,” भन्दै हरेक नागरिकले रामको चरित्रबाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी बेलौरी नगरपालिकाको खुला मञ्चमा बेलाैरी सांस्कृतिक तथा रामलीला समितिका अध्यक्ष दिनेश कुवरको अध्यक्षतामा सम्पन्न रामलीलाको उद्घाटन नगर प्रमुख पोतिलाल चौधरीले गर्नुभयो। प्रमुख चौधरीले उद्घाटन भाषणमा भन्नुभयो, “रामलीलाले हाम्रो परम्परा, संस्कार र सभ्यतालाई जोगाउने मात्र होइन, नयाँ पुस्तालाई धर्म र सदाचारको बाटोमा अघि बढ्न सन्देश दिन्छ। यो हाम्रो सामाजिक एकताको आत्मा हो,” भन्दै सम्पूर्ण नगरवासीलाई रामलीला सफल पार्न आग्रह गर्नुभयो।
दुवै ठाउँमा रामलीला सुरू भएसँगै गाउँ–नगर धार्मिक र सांस्कृतिक माहोलले भरिएको छ।
साँझ पिच्छे मञ्चमा रामायणका भावपूर्ण प्रसङ्गहरू गीत, संगीत र अभिनयसहित प्रस्तुत हुँदा दर्शकको भीडले वातावरण नै भक्तिमय बनेको छ। बालबालिकादेखि बृद्धसम्म सबै उमेरका श्रद्धालुहरू रामायणका संवाद सुन्दै, जय श्रीरामका जयघोष गर्दै सहभागी भइरहेका छन्।
स्थानीय कलाकारहरूको उत्कृष्ट अभिनय, परम्परागत भेषभूषा र मधुर सङ्गीतले रामलीलालाई झनै मनमोहक बनाएको छ।
गाउँ-टोलका युवाहरूको सक्रियता र महिलाहरूको उत्साही सहभागिताले सम्पूर्ण क्षेत्र धार्मिक चेतना, सांस्कृतिक एकता र सामुदायिक मेलमिलापको सुगन्धले गुञ्जायमान बनेको छ।
सत्य, धर्म र प्रेमको सन्देश बोकेको यो वर्षको रामलीलाले बेलडाँडी र बेलौरी दुबै ठाउँमा भक्ति र उल्लासको नयाँ उज्यालो भरेको छ।






















Discussion about this post