कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा जेनजी आन्दोलनका सहिदमाथि अपमानजनक अभिव्यक्ति दिएको आरोपमा सर्वदलीय बैठक बीचमै भाँडिएको छ।
आइतबार बेलौरीमा जेनजी चोक स्थापना गर्ने विषयमा जेनजी समूह, राजनीतिक दलका प्रतिनिधि र स्थानीय सरोकारवालाबीच सर्वदलीय बैठक चलिरहेका बेला विवाद उत्पन्न भएको हो।
बैठकमा एमाले नगर अध्यक्ष नवराज शाहीले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूलाई “सहिद नभई लुटपाट गर्न गएका चोर र अराजक” भन्दै अपमान गरेको जेनजी समूहको आरोप छ। उक्त अभिव्यक्तिपछि जेनजी समूहका प्रतिनिधिहरूले बैठक बहिष्कार गरेका हुन्।
जेनजी बेलौरी संयोजक केशव कुमार बोहराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बैठकको शुरुवातमै एमाले नगर अध्यक्ष शाहीले अनावश्यक रूपमा सहिदमाथि अपमानजनक अभिव्यक्ति दिएपछि हामी बैठक छाड्न बाध्य भयौं।”
त्यस्तै, जेनजीका बेलौरी उपसंयोजक विष्णूदत्त अवस्थीले भने, एमाले नेता शाहीकै कारण बेलौरी नगरपालिका र जेनजी समूहबीच वार्ता नै भाँडिएको बताए। उनले थपे, “अब अनिश्चितकालका लागि कुनै बैठकमा सहभागी नहुने निर्णय गरेका छौं।”
तर, एमाले नगर अध्यक्ष शाहीले भने जेनजी समूहको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार, आफूले सहिदको अपमान नगरी जेनजीको नाममा भएका अराजक गतिविधि र लुटपाटको प्रसंग मात्र उठाएको बताए।
शाहीका शब्दमा, “मैले जेनजी र सहिदको अपमान गरेको होइन। जेनजीका नाममा लुटपाट गर्ने र आगजनी मच्चाउनेहरूकै विषयमा कुरा उठाएको हुँ।”
हाल बेलौरीका जेनजी युवाहरूले संस्थागत भ्रष्टाचारविरुद्ध र जेनजी चोकको नामकरणबारे निरन्तर संघर्ष गर्दै आएका छन्।






















Discussion about this post