बेलडाँडी । भाद्र महिनाको पीडादायी क्षण, झिलमिला युवा समाजका सदस्य ३८ वर्षीय नारायण रोकायको असामयिक निधनले एउटा परिवार अन्धकारमा डुब्यो । जीवनसँग अन्तिमसम्म लडिरहे पनि, भाद्र १३ गते उनले संसार छोडे । उनीपछि बाँच्ने परिवारमा ५ जना नाबालक बालबालिका र एक असहाय श्रीमती मात्र बचेका छन् । न त बस्न घर ठिक, न त गरिखान जग्गा, यस्तो दयनीय अवस्थाको परिवारलाई झिलमिला युवा समाजले नछाड्ने संकल्प गर्यो ।
दुःखको क्षणमा सहारा बनेर समाजले मानवताको असली उदाहरण प्रस्तुत गर्यो । देश-विदेशमा रहेका सदस्य र शुभेच्छुकहरूलाई एकतामा बाँध्दै समाजले आर्थिक सहयोग संकलन अभियान चलायो । सोही अभियानबाट संकलित रकम रु. १ लाख १७ हजार १२५ रुपैयाँ मंगलबार एक विशेष कार्यक्रममार्फत मृतककी धर्मपत्नी पुनी रोकायालाई हस्तान्त्रण गरियो ।
कार्यक्रममा वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खड्का, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय बासिन्दाहरूको उपस्थितिमा सहयोग रकम हस्तान्त्रण गरिँदा भावुक वातावरण सिर्जना थियो ।
इन्डियामा बस्दै आएका झिलमिला युवा समाजका प्रतिनिधि चक्र बहादुर शाहले भने, “नारायण रोकायजस्तो श्रमजीवी र इमानदार व्यक्तिको निधनले हामी सबैको मन रोएको छ । उनको परिवार हाम्रो आफ्नै परिवार हो भन्ने भावनाले हामीले यो सहयोग गरेका हौं । अझ पनि परिवारलाई स्थायित्व दिन सबै पक्षबाट निरन्तर सहयोगको आवश्यकता छ।”
उनले थपे, “झिलमिला युवा समाजले खेलकुद मात्र होइन, मानवताको मैदानमा पनि आफूलाई उभ्याउने प्रण गरेको छ । हामी दुःखमा परेकाको साथ बन्ने प्रतिज्ञा गर्छौं।”
उनीहरूले यसअघि पनि शंकर चिमाडी र सम्राट थापा बचाऊ अभियानमा समेत उल्लेखनीय योगदान पुर्याइसकेका थिए । खेलकुदका गतिविधिबाट सुरू भएको यो झिलमिला युवा समाज अहिले मानवसेवाको उदाहरण बन्दै गएको छ ।
स्थानीयहरूले झिलमिला युवा समाजको यो पहलप्रति आभार व्यक्त गर्दै भने, “यस्ता मानवीय कार्यहरूले समाजमा आशा र संवेदनशीलता जगाउँछन् । झिलमिला युवा समाजले देखाएको बाटो नै सहकार्य र सहानुभूतिको बाटो हो।”
झिलमिला युवा समाजले पिडित परिवारको घर पुनर्निर्माण र बालबालिकाको शिक्षाका लागि सबै पक्षलाई सहयोगका लागि अपिल समेत गरेको छ ।






















Discussion about this post