धनगढी । हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालयहरूमा भएको क्षतिपछि आलोक मल्टी कन्सर्न प्रा.लि., धनगढी–चटकपुर, कैलालीले विभिन्न सरकारी कार्यालयहरूमा फर्निचर सामग्री सहयोगका रूपमा हस्तान्तरण गर्दै आएको छ ।
कम्पनीले सुदूरपश्चिमका विभिन्न मन्त्रालय, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, नगरपालिका तथा गाउँपालिकालगायत २२ वटा सरकारी कार्यालयमा टेबल, कुर्सी, र्याक, सोफा र बेडजस्ता फर्निचरहरू वितरण गरिरहेको जनाएको छ ।
भाद्र २३ र २४ गतेको आन्दोलनपछि प्रभावित कार्यालयहरूको दैनिक कामकाज पुनःसञ्चालनमा सहजता ल्याउन सहयोग पु¥याउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको कम्पनीले बताएको छ ।
कम्पनीका प्रतिनिधिहरूका अनुसार, “हामी विपत्मा परेका बेला समाजले साथ दिएको थियो, अब समाज र राष्ट्र कठिन परिस्थितिमा परेका बेला सहयोग गर्नु हाम्रो कर्तव्य हो ।”
आलोक मल्टी कन्सर्न आफैं पनि केही वर्षअघि ठूलो आगलागीको विपत् बाट गुज्रिएको थियो । सो समयमा आम जनसमुदाय, व्यवसायी तथा उद्योग वाणिज्य संघ लगायतका संस्थाबाट पाएको साथ र सहयोगले कम्पनीलाई पुनः उभिन हिम्मत दिएको थियो। त्यही सहकार्य र कृतज्ञताको भावनालाई सम्झँदै अहिले कम्पनीले सरकारी तथा सार्वजनिक संस्थाहरूसँग हातेमालो गर्दै सहयोगको बाटो रोजेको हो।
कम्पनीले अधिकांश कार्यालयमा सामग्री हस्तान्तरण गरिसकेको र बाँकी रहेका केही कार्यालयहरूलाई चाँडै सम्पर्कमा आउन अनुरोध गरेको छ ।
समाज, समुदाय र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै “विपत्मा साथ, समृद्धिमा सहकार्य” भन्ने मूलमन्त्रसहित कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहकार्यका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
आलोक मल्टी कन्सर्नको यो मानवीय र जिम्मेवार कदमले सुदूरपश्चिममा “संकटमा पनि सेवा” गर्ने सकारात्मक सन्देश फैलाएको छ ।






















Discussion about this post