भीमदत्त । भीमदत्त नगरपालिका उप-प्रमुख निलम लेखक जोशी हरेक बिहान सूर्योदय नहुदै मर्निङ वाकका लागि घरबाहिर निस्किन्छिन्। तर यो हिडाइ केवल स्वास्थ्यका लागि मात्र हुँदैन-यससँगै उनको मनमा नगरलाई अझ स्वच्छ, सुन्दर, व्यवस्थित र हराभरा कसरी बनाउने भनेर अनेक योजनाहरू पनि दौडिरहेका हुन्छन्। नगरप्रेमले भरिएको उनको यही सोच नेतृत्वको असली पहिचान बनेको छ।
सामान्यतया धेरै स्थानीय तहमा पालिका प्रमुख उपप्रमुखहरुले सार्वजनिक जग्गा मिचेर संरचना बनाउने, नक्सा उल्लङ्घन गर्ने र पदको दुरुपयोग गर्ने घटनाहरू सुनिन्छन्। तर उप-प्रमुख जोशी भन्छिन्, “त्यस्ता समाचार सुन्दा नै मलाई अचम्म लाग्छ। म न सडक खाएकी छु, न सार्वजनिक जमिन अतिक्रमण गरेकी छु, न कसैलाई दुःख दिएको छु। पद पाउनु भनेको जिम्मेवारी पाउनु हो, दम्भ होइन।”
उप–प्रमुख जोशीको कार्यशैली अन्य नेताहरूभन्दा निकै फरक छ। कार्यालयमा आफू नभएर सेवाग्राही फर्किए भने पनि उनी पछि अनिवार्य रूपमा कलब्याक गर्छिन् र समस्या बुझेर समाधानतर्फ अघि बढ्छिन्।
जनताको आवाज सुन्ने र तुरुन्त प्रतिक्रिया दिने नेतृका रूपमा उनी पहिचान बनाउँदै आएकी छिन्।
आज शुक्रबार विहानको मर्निङ वाकमा समेत उनले बजार क्षेत्रको अनुगमन गरिन्। बजारलाई व्यवस्थित, सफा र हराभरा बनाउन उनले आफैँ सरसफाईमा पनि हात लगाए र सम्बन्धित कर्मचारीलाई आवश्यक निर्देशन समेत दिइन्।
उप-प्रमुख जोशी भन्छिन्, “हामी सबै नगरबासी हौँ। म पदमा रहुँ वा नरहूँ, स्वच्छ र सुन्दर वातावरण सबैको आवश्यकता हो। त्यसैले नगर सुन्दर बनाउने सोच सधैं मनमा घुमिरहन्छ।” जनताको काम गर्दै जाँदा केही व्यक्तिहरूले गरेको अन्याय र दुर्व्यवहारको चोट आज पनि उनको मनमा ताजा छ। जेनजी आन्दोलनका नाममा आफ्नो घरमा भएको आगजनी, तोडफोड र पितृ सम्पत्तिमाथि गरिएको प्रहार याद गर्दा उनी भावुक बन्छिन्।
“राम्रो काम गर्ने मानिसलाई पनि गलत आरोप लगाएर दुख दिइयो। तर मैले कुनै अपराध गरेकी छैन। जनताको भलोका लागि खटिएकी हुँ।” तर व्यक्तिगत पीडा हुँदाहुँदै पनि उनी आफ्नो जिम्मेवारीबाट विचलित भएकी छैनन्। उल्टै, त्यो चोटले उनलाई अझ दृढ र जनमुखी बनाएको छ।
स्थानीय विकास, सुशासन, पारदर्शिता र जवाफदेहितामा उप-प्रमुख जोशीको भूमिका अतुलनीय छ। न्याय सम्पादनमा समेत भीमदत्त नगरपालिका क्रमशः उत्कृष्ट स्थानमा रहनुको मुख्य श्रेय पनि उनलाई नै दिइन्छ।
स्थानीयहरू भन्छन्, “उप-प्रमुख जोशी जति भन्नु छ, त्योभन्दा धेरै गर्ने नेतृ हुन्। उनको सम्मान गर्न शब्द नै कम पर्छ।”
नेपालका धेरै स्थानीय तहमा प्रमुख र उप-प्रमुखबीच मनमुटाव हुने घटना सुन्न पाइन्छ। तर भीमदत्तमा यस्तो कहिल्यै देखिएको छैन। उनी भन्छिन्, “जनताको काम गर्दा विवाद किन गर्ने ? प्रमुख-उपप्रमुख मिलेर बसे नगरको विकास हुन्छ। यही सोचका कारण हामीबीच कुनै दिन विवाद भएको छैन।” यसले नगरको प्रशासनिक कामलाई सहज, प्रभावकारी र सरलीकृत बनाएको कर्मचारीहरूको भनाइ छ।
नगरभित्र तथा बाहिर धेरै पटक सम्मान प्राप्त गरेकी उप-प्रमुख जोशी भन्छिन्, “सम्मान कसैसँग मागेर पाइँदैन। योग्य काम गरे मात्र समाजले सम्मान गर्छ।” अहिलेसम्मका उपलब्धिहरूलाई थप मजबुत बनाउँदै उनले बाँकी कार्यकाल जनपक्षीय, विकासमुखी र पारदर्शी ढङ्गले बिताउने दाबी गरिन्। “राम्रो कामका लागि सबैले हातेमालो गर्नुपर्छ। नगर हामी सबैको हो, त्यसैले सुन्दर बनाउन सबै जिम्मेवार छौँ।”





















Discussion about this post