‘नभएको घर देखाएर ३३ लाख ऋण’, बेलडाँडी उपाध्यक्षविरुद्ध अख्तियारको मुद्दा विशेष अदालतमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ विरुद्ध नभएको घर देखाएर बैंक ऋण लिएको प्रकरणमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले बिहिबार सार्वजनिक गरेको जानकारीअनुसार, जग्गाधनी शान्ती नाथसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरहरू मिलेर झुटा नक्सा तयार पारी बैंक ऋण निकासा गराएको आरोप प्रमाणसहित पुष्टिएकाले कानुनी कारबाहीका लागि आरोपपत्र पेश गरिएको हो ।

आयोगले दायर गरेको आरोपपत्रका अनुसार, बेलडाँडी गाउँपालिका वडा नम्बर २ का शान्ती नाथले आफ्नो नाममा दर्ता रहेको कित्ता नम्बर ३५७, क्षेत्रफल चार सय वर्ग मिटरको जग्गामा कुनै पनि पक्की घर नभएको स्थितिमा नै घर रहेको झुटो विवरण तयार गराए । उनले सेती कन्सल्टेन्सी प्रालिबाट घरको नक्सा तयार गराई गाउँपालिकामा अभिलेखीकरणका लागि निवेदन दिए । गाउँपालिकाका सम्बन्धित कर्मचारीहरूले बिना आधार नै सो नक्सालाई घर अभिलेखीकरण÷नक्सा प्रमाणित गरेर सार्वजनिक कागजातका रूपमा वैधानिकता प्रदान गरे ।

तर वास्तविक रूपमा भने उक्त जग्गामा कुनै पनि पक्की संरचना– घर, सटर, कोठा वा सिँढी–कुनै पनि प्रकारको निर्माण नभएको आयोगबाट खटिएको स्थलगत अनुगमन टोलीले पुष्टि गरेको छ । आयोगले तयार पारेको मुचुल्कामा स्पष्ट लेखिएको छ कि उक्त जग्गामा जमिन सम्याइएका केही भाग बाहेक ठाडो भौतिक संरचना बिल्कुलै छैन ।

यस्तै, नापी कार्यालय, बेलौरीबाट खटिएको अर्को टोलीले पनि सोही निष्कर्ष पुनः पुष्टि गरेको छ । उनीहरूको फिल्ड प्रतिवेदनमा जग्गाधनी शान्ती नाथको नाममा दर्ता रहेको सो क्षेत्रफलमा कुनै पक्की संरचना देखिएको छैन भन्ने किटानी गरिएको छ ।

यता गाउँपालिकाले भने सोही जग्गामा पक्की घर, सटर, कोठाहरू र तीन तला बराबरको संरचना रहेको दाबी गर्दै नक्सा पास गरेको थियो । आयोगका अनुसार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर, र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारले मिलेमतो गरी नभएको घरलाई भएको भनेर झुटा विवरण तयार पारेका थिए । गाउँपालिकामा घर–नक्सा अभिलेखीकरण वा प्रमाणित गर्ने विषयमा कुनै स्पष्ट मापदण्ड वा कानुनी प्रक्रिया नै नबनेको अवस्थामासमेत उनीहरूले स्वेच्छाचारितापूर्वक नक्सा पास गरेको आयोगले ठहर गरेको छ ।

सम्पूर्ण झुटा कागजातका आधारमा शान्ती नाथले लक्ष्मी सनराइज बैंक, कञ्चनपुर शाखाबाट मिति २०७८ चैत १० गते २३ लाख ७५ हजार रकम र मिति २०७९ असोज १३ गते दश लाख नगद गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण प्राप्त गरेका थिए । ऋण प्राप्तिका लागि जग्गा तथा घर धितो राखिएको थियो । तर घर नै नभएको पुष्टि भएपछि, यो प्रकरण नक्कली कागजातमार्फत बैंकबाट ऋण लिने उद्देश्यपूर्ण भ्रष्टाचारजन्य कार्य भएको आयोगले उल्लेख गरेको छ ।

कस कसलाई कस्तो आरोप ?

आयोगले चार जनालाई भिन्न–भिन्न तर एकआपसमा सम्बन्धित भूमिकामा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनारलाई दफा ९ अनुसार ‘भ्रष्टाचार गर्ने’ कसुरमा सजाय माग गरिएको छ । आयोगका अनुसार उनीहरूले सरकारी पदको दुरुपयोग गर्दै गलत कागजात तयार पारे, गलत विवरण प्रमाणित गरे र प्रत्यक्ष लाभ कसैलाई उपलब्ध गराए, जसले दफा ९ को संरचना पूरा गर्छ ।

यस्तै, जग्गाधनी शान्ती नाथलाई झुटा कागजात तयार गराउने र बैंक ऋण प्राप्त गर्न प्रयोग गर्ने मुख्य मतियारका रूपमा दफा २२ अनुसार अभियोग लगाइएको छ । दफा २२ ले मुख्य कसूरदार सरह नै समान सजाय दिन सकिने कानुनी व्यवस्था गरेको छ ।
आयोगले प्रतिवादीहरू बीच मिलोमतो भएर कार्य गरिएको प्रमाणित भएकाले उनीहरू सबैलाई सजाय हुनुपर्ने कानुनी मागदाबी विशेष अदालतमा प्रस्तुत गरेको छ ।

आयोगले भनेको छ– यो प्रकरण सामान्य प्रशासनिक त्रुटि वा कागजी कमी मात्र होइन, उद्देश्यपूर्ण ढंगले योजनाबद्ध रूपमा नभएको घरलाई भएको प्रमाणित गर्ने, झुटा नक्शा तयार गर्ने, सरकारी कार्यालयबाट पास गराउने र बैंकबाट वित्तीय लाभ लिने पूर्ण भ्रष्टाचारजन्य प्रवृत्ति हो ।

सरकारी कागजातको दुरुपयोग, पदको दुरुपयोग, सार्वजनिक निकायलाई झुक्याउने तथा बैंकको स्वामित्वमा रहेका संसाधनमा अनधिकृत पहुँच जमाउने जस्ता क्रियाकलाप भएका कारण यो अनुसन्धान अगाडि बढाइएको आयोगले स्पष्ट गरेको छ ।

अब यो मुद्दा विशेष अदालतमा चल्नेछ । अदालतले प्रतिवादीहरूलाई बयानका लागि तस्दीक बोलाउने, प्रमाण परीक्षण गर्ने, आवश्यक कागजात झिकाउने र अन्ततः अदालतको आदेश अनुसार सजाय टुंगो लगाउने प्रक्रिया अघि बढ्नेछ ।

यदि दोषी ठहरिएमा भ्रष्टाचार निवारण ऐनले उल्लेख गरेको सजायअनुसार जेल सजाय, जरिवाना वा दुवै सजाय तोकिन सक्छ । विशेष गरी सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेको प्रमाणित भएमा थप कडाइ हुने सम्भावना रहन्छ ।

मिडियाले उठाएको पुरानो भिडियो हेर्न तल लिङ्क खोल्नस्..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित