बेलडाँडी राष्ट्रपति रनिङ्गशिल्ड सम्पन्न, रौलेश्वर माविले लगातार चौथोपटक उपाधि चुम्यो

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा आयोजित १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनोट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगिता झर्नासागरस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सफलतापूर्वक सम्पन्न भएको हो ।

गाउँ खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर सुनार का अनुसार प्रतियोगितामा गाउँपालिकाभित्रका ३ निजी र ६ सामुदायिक विद्यालय सहभागी थिए । विभिन्न विधाका खेलकुद प्रतिस्पर्धामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३८ पदकसहित रौलेश्वर माध्यमिक विद्यालय प्रथम हुँदै लगातार चौथोपटक राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जित्न सफल भयो । यस्तै, ३२ पदकसहित सरस्वती मावि बैवाह द्वितीय तथा २१ पदकसहित सरस्वती मावि झर्नासागर तृतीय स्थानमा रहन सफल भए ।

समापन समारोहलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना ले नियमित पठन–पाठनसँगै खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भएको उल्लेख गर्नुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकाले विद्यार्थीहरूलाई यस क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो । साथै, प्रतियोगिता स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा सरस्वती मावि झर्नासागरका प्रधानाध्यापक जनक थापा ले पालिकाभरिका खेलाडी विद्यार्थीलाई स्वागत गर्दै प्रतियोगिता भव्य, सभ्य र निष्पक्ष रूपमा सम्पन्न भएको बताए । विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सरस्वती मावि झर्नासागरका सहायक प्रधानाध्यापक राधाकृष्ण पाठक ले गर्नुभएको थियो । कार्यक्रममा खेलाडी विद्यार्थी, शिक्षक, अभिभावक, खेलकुदकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

लगातार चौथोपटक उपाधि जित्न सफल रौलेश्वर मावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर धामी ले खेलाडी विद्यार्थीलाई हार्दिक बधाई दिँदै पठन-पाठनसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको भविष्य उज्यालो बनाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित