बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-४ स्थित बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा कार्यसमिति गठनलाई लिएर विवाद उत्पन्न भएपछि सहकारीमा तालाबन्दी गरिएको छ।
संस्थाको २१औँ साधारणसभा तथा छैटौँ अधिवेशन २०८२ साल पुस १९ गते सम्पन्न भई सहमतिका आधारमा नयाँ कार्यसमिति गठन गरिएको थियो। सो अधिवेशन संस्थाकी पूर्व अध्यक्ष दुर्गा रोकायाको अध्यक्षतामा सम्पन्न भएको र अधिवेशनपछि नवगठित कार्यसमितिलाई टीका लगाई बधाई दिँदै साधारणसभा तथा अधिवेशन सम्पन्न भएको माइन्युटमा हस्ताक्षरसमेत गरिएको संस्थाको दाबी छ।
तर अधिवेशन सम्पन्न भएको भोलिपल्टै कार्यसमिति गठन प्रक्रिया अनियमित रहेको दाबी गर्दै धनगढीस्थित सहकारी रजिष्ट्रार कार्यालयमा उजुरी दर्ता गराइएको बताइएको छ। उजुरी दर्तापछि नवगठित कार्यसमितिलाई कुनै पनि काम–कारबाही गर्न नदिने अवस्था सिर्जना भएको सहकारी स्रोतले जनाएको छ।
नयाँ कार्यसमितिले सहकारीको खाता सञ्चालन तथा अन्य प्रशासनिक प्रक्रिया अघि बढाउन खोज्दा विभिन्न अवरोध देखाइएको र यसले सहकारी सञ्चालनमै गम्भीर समस्या उत्पन्न भएको जनाइएको छ।
यसैबीच, सहकारी रजिष्ट्रार कार्यालयले बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने साधारणसभामा केही त्रुटी देखिएको जनाउँदै सो साधारणसभाबाट भएका प्रमाणित निर्णयहरू कार्यालयमा पेश गर्न अनुरोध गरेको छ। रजिष्ट्रार कार्यालयको उक्त पत्रपछि विवाद थप चुलिएको बताइएको छ।
समस्याको समाधानका लागि साधारणसभा वा विशेष साधारणसभा बोलाउने तयारी भए पनि हाल आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण आचारसंहिता लागू रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको सहकारीले जनाएको छ।
निर्वाचन सम्पन्न भएपछि फागुन २१ गतेपछि सर्वदलीय बैठक तथा सरोकारवाला सम्पूर्ण सेयर सदस्यहरूको सहभागितामा छलफल गरी समस्याको निकास खोज्ने निर्णय गरिएको छ। सो अवधिसम्मका लागि आजको मितिदेखि बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बन्द रहने जानकारी गराइएको छ।
कार्यसमिति विवादका कारण सहकारीका सेयर सदस्यहरू चिन्तित बनेका छन् ।























Discussion about this post